काठमाडौं । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिनुभयो। उपत्यकाको जनसङ्ख्या दिनदिनै बढ्दै गएकाले पनि खानेपानीको नयाँ विकल्पमा मन्त्रालयले काम सुरु गरेको उहाँको भनाइ छ।
गेलालका अनुसार सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने योजनाको सम्भाव्यता अध्ययन भई अहिले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइरहेको छ। उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत सिस्नेरी खोला, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन भइरहेको छ। साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताले आयोजनाको डीपीआर निर्माण गरिरहेको छ।
निर्माणाधीन काठमाडौँ–निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैँबुसम्म पाइप लाइन निर्माण गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको छ । आयोजना सम्पन्न गर्न २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सिस्नेरी बाँधदेखि ललितपुरको सैँबुस्थित पानी प्रशोधन केन्द्रसम्म कुल १९ किलोमिटर पाइप लाइन जडान गर्नुपर्ने हुन्छ। वर्षायाममा सिस्नेरी खोलाबाट लिफ्टिङ गरेर दैनिक १५ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी अहिले डीपीआर तयार भइरहेको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने महादेव खोलामा ४० देखि ४२ मिटरको उचाइको जलाशय निर्माण गरी काठमाडौँ उपत्यकामा खानेपानी व्यवस्थापन गरिने गरी अध्ययन भइरहेको सचिव गेलालले जानकारी दिनुभयो। यो खोलाबाट विशेषगरी हिउँदयाममा पानी आपूर्ति गरिने सोच छ। करिब ८० करोड लिटर पानी भण्डारण गर्न सकिने क्षमताको पोखरी निर्माण गरिनेछ।
२०७७ चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक–पटक बन्द हुँदै आएको छ। अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण हुँदै आएको छ।