25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

लुम्बिनीको संसद् अधिवेशन आजबाट, सरकार निर्माण प्रक्रिया सुरु

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा नवनिर्मित प्रदेश सभामा सांसदहरू आइतबार शपथ ग्रहण गरेसँगै आजदेखि अधिवेशन सुरु भएको छ । आज दिउसो १ बजेदेखि सदन बस्ने छ ।

सबै सांसदहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका छन् भने अब सभामुख र उपसभामुख छनौट नहुँदासम्म ज्येष्ठ सदस्यका हिसाबले एमालेका सांसद डिल्लीराज भुसालले अध्यक्षता गर्नेछन् । यसका लागि आइतबार नै प्रदेश प्रमुखले उनलाई जिम्मेवारी दिएका छन् ।

२०७७ असोज २० मा प्रदेशसभाले स्थायी राजधानी देउखुरी हुने निर्णय गरेको थियो । त्यसको २ वर्ष ३ महिनामा प्रदेश सरकारले प्रदेश सभा तयार गरेको हो । प्रदेश सरकारले यसअघि बुटवल मुकाममा रहेको मुख्यमन्त्रीसहितका अन्य केही मन्त्रालयसमेत यहाँ ल्याएर काम सुरु गरेसँगै देउखुरी राजनीतिक र प्रशासनिक केन्द्रमा परिणत भएको छ ।

प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाका सबै कामसहित प्रदेश राजधानीका शासकीय काम सबै देउखुरीबाटै सुरु हुने बताए । प्रदेश सभामा १० दलको प्रतिनिधित्व भए पनि ८ दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउनु पर्नेछ ।

प्रदेश सभामा १० दलबाट ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । तीमध्ये आइतबार प्रदेश प्रमुख अमिक शेरचनबाट ८६ जनाले शपथ लिएका छन् । राप्रपाबाट समानुपातिकमा निर्वाचित बाँकेकी मिनाकुमारी श्रेष्ठ शपथग्रहण कार्यक्रममा अनुपस्थित भएकी छन् । आइतबार ९ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । जनमत पार्टीका सुमन शर्मा रायमाझी, चन्द्रकेष गुप्ताले अवधि भाषामा शपथ लिए । जनता समाजवादीका भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले पनि अवधि भाषामा शपथ लिए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैयालाल बनियाले पनि अवधि भाषामै शपथ लिए । यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी, धर्मबहादुर चौधरी, निर्मलादेवी थारु चौधरीले थारु भाषामा शपथ लिए । त्यसैगरी माओवादी केन्द्रकी कृष्णा कुश्मा थारुले पनि थारु भाषामा शपथ लिइन् ।

अहिले ६ वटा मन्त्रालयले देउखुरीमै काम सुरु गरिसकेका छन् भने अन्य मन्त्रालय र निर्देशनालयको संरचना निर्माण एवं मर्मत तीव्र रूपमा भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गा तथा यहाँ रहेका ४२ वटा भवन रहेको क्षेत्र प्रदेश सरकारले पाएपछि राजधानीलाई यहाँ व्यवस्थापन गरिएको हो । यहाँ रहेका भवन रंगरोगन तथा मर्मत गरी मन्त्रालय व्यवस्थापन भइरहेको छ ।

अहिले ६ वटा मन्त्रालयले देउखुरीमै काम सुरु गरिसकेका छन् भने अन्य मन्त्रालय र निर्देशनालयको संरचना निर्माण एवं मर्मत तीव्र रूपमा भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गा तथा यहाँ रहेका ४२ वटा भवन रहेको क्षेत्र प्रदेश सरकारले पाएपछि राजधानीलाई यहाँ व्यवस्थापन गरिएको हो । यहाँ रहेका भवन रंगरोगन तथा मर्मत गरी मन्त्रालय व्यवस्थापन भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स