26.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्ने

काठमाडौँ । दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल सञ्चालन गर्नेछ । काठमाडौं उपत्यकाभित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्यविनायकबाटै खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । साल्ट्र ट्रेडिङले कालिमाटी, सतुङ्गल, जाउलाखेल, जडिबुटी र भक्तपुरबाट सुपथ पसलको सुविधा प्रदान गर्नेछ ।

तर, आवश्यकता परेको खण्डमा थप एक स्थान कलंकीमा सुपथ पसल सञ्चालन हुन सक्ने साल्ट ट्रेडिङका विभागीय प्रवन्धक बृजेश कुमार झाले लाई बताए । ‘अहिले पनि साल्ट ट्रेडिङले उपत्यकाभित्रका आफ्ना ६ वटा विक्री केन्द्रबाट नियमित खाद्यान्न दाल, चामल, नुन, तेल, गेडागुडी, ग्यास बिक्री वितरण गरिरहेकै छ,’ झाले भने, ‘दसैँ–तिहार चाडपर्व विशेष सुपथ पसल पनि यिनै केन्द्रहरुबाट प्रदान गरिनेछ । केमा कति छुट दिने वा कति सहुलियत दिने भन्ने कुराचाहिँ अहिले नै यकिन भइसकेको छैन, यो सरकारी निर्णयबाटै तोकिन्छ ।’

खाद्य कम्पनीले पनि आफ्नै चार वटा नियमित पसलबाटै सुपथ सेवा प्रवाह गर्ने निर्देशक श्रमणी खनालको भनाइ छ । ‘दसैँ–तिहार विशेष सुपथ पसलका लागि थप नयाँ स्थान खोज्ने हाम्रो योजना छैन । उपत्यकाभित्रका चार स्थान छँदैछन्, उपत्यका बाहिर पनि खाद्यकै डिपार्टमेन्ट स्टोरहरुबाट सुपल मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछन्,’ खनालले भने । यस्तो डिपार्टमेन्ट स्टोर खाद्य कम्पनीको उपत्यका बाहिर ७५ र साल्ट ट्रेडिङको ४२ स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स