25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

काठमाडौंमा नक्सा पास नगरी बनाइएका संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ ।

महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन । मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो । नक्सापासबिनाका अवैध संरचना भत्काउन थालेपछि व्यापारीमाझ खैलाबैला भएको छ।

महानगरले अवैध संरचना हटाउन महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको थियो। भत्काउने सूचना सम्बन्धित ठाउँमा पनि टाँस गरे पनि अटेर गरेकाले महानगरपालिकाले भत्काउनु परेको अधिकारीहरुले बताएका छन्। कसैले पनि कानुन जान्दिन भन्न नपाउने भन्दै कानुनको अवज्ञा कसैले गर्नु नहुनेमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बताए।

एक व्यापारीले महानगरले अवैध संरचना भत्काउनु स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे। सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाइ छ।

अर्का व्यापारीले आफूहरुले सञ्चय कोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतिमा संरचना भत्काएको भए उपयुक्त हुने बताए। उनले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चय कोषसँग कुरा गर्ने बताए।

काठमाडौं मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको बताउँदै राज्यलाई कर पनि भुक्तानी गरिरहेको जिकिर गरे। संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग उनले गरे। व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनीहरुले माग गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स