25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आफ्नै घरमा बसेर प्रदेश १ का स्वास्थ्यमन्त्रीले ४ वर्षसम्म लिए आवास सुविधा

विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर प्रदेशसभा सचिवालयबाट चार वर्षसम्म आवास सुविधा लिएको पाइएको छ । गत कात्तिक मन्त्री बनेका जनता समाजवादी पार्टीका नेता उनले चार वर्षसम्म सचिवालयबाट आवास सुविधावापत वार्षिक रुपमा एकमुष्ट रकम लिएका हुन् ।

प्रदेश १ संसद सचिवालयका अनुसार प्रदेशसभा सचिवालय भन्दा १५ किलोमिटर आसपास घर भएका सांसदले आवास सुविधा नपाउने कानुनी व्यवस्था छ । तर प्रदेशसभाबाट करिब पाँच किलोमिटर दक्षिण विराटनगर महानगरपालिका– १४ जतुवा घर भएका यादवले मासिक रुपमा आवास सुविधा लिइरहेका थिए।

उनले आर्थिक वर्ष २०७४/०७५ मा ८६ हजार ८९६ रुपैयाँ बुझेका थिए । आर्थिक वर्ष २०७५/७६ मा एक लाख ८० हजार रुपैयाँ आवास सुविधा बुझेका छन् । आर्थिक वर्ष २०७६/७७ मा २ लाख २८ हजार रुपैयाँ आवास सुविधा बुझेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा पनि २ लाख २८ हजार रुपैयाँ बुझेका प्रदेशसभा सचिवालयको विवरण छ । प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यादवले चार वर्षमा आवास सुविधावापत ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।

यादवले घर आफ्नो नाममा नभएका कारण प्रदेशसभाबाट आवास सुविधा लिएको प्रतिक्रिया दिएका छन् । ‘हिजो घर मेरो नाममा थिएन’, उनले भने, ‘अहिले मेरो नाममा छ ।’ मन्त्री भएपछि भने आवास सुविधा नलिएको यादवले बताए ।

चार वर्षमा पाँच करोड

प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनूसूची १ को ४ मा पदाधिकारी तथा सदस्यहरुका लागि आवास सुविधाको व्यवस्था छ । जसमा १५ किलोमिटर आसपास घर भएका सांसदले वार्षिक रुपमा ३० हजार रुपैयाँ एकमुष्ट घर मर्मत खर्च पाउने व्यवस्था छ । १५ किलोमिटर भन्दा टाढा घर भएका सांसदहरुका लागि आवास सुविधा बापत मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था छ । प्रदेश १ प्रदेशसभा सचिवायले चार वर्षमा सांसदको आवास सुविधाका लागि मात्रै ५ करोड ४७ लाख ३० हजार ३०९ रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स