काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कुनै पनि क्षेत्रमा अब फुटपाथ व्यापार गर्न नदिने योजना बनाएको छ । महानगरपालिका स्रोतका अनुसार एकसाथ १० वटा कार्ययोजना बनाएर बानेश्वर क्षेत्रको फुटपाथ हटाइएको छ ।
सडकपेटी अतिक्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, दृष्य प्रदूषण नियन्त्रण, पार्किङ स्थलको व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, सेटब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, रुखका हाँगा काटछाँट र अव्यवस्थित तार व्यवस्थापनको काम पनि गर्ने महानगरको योजनामा उल्लेख छ ।
बानेश्वर क्षेत्रमा महानगरले करिब २२० वटा फुटपाथ पसल रहेको अनुमान गरेर यसलाई हटाउने योजना बनाएको थियो । बानेश्वरमा जनपद प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, स्थानीय सटर ब्यापारीको संघ, घरधनीहरु, क्लब तथा सामाजिक संघ संस्था, आमा समूह, स्कुलका विद्यार्थी, स्काउट र जनप्रतिनिधिको सहयोग लिने महानगरको योजना थियो ।
बानेश्वरमा कामको नेतृत्व र आवश्यक स्रोत साधनको व्यवस्थापन वडा नम्बर १० को वडा कार्यालयले लिएको छ । स्थानीयबासी र सटरका व्यापारीलाई अघि सारेर अन्य क्षेत्रमा पनि फुटपाथ व्यापारीलाई हटेर जाने गरी निरुत्साहित गर्ने महानगरको रणनीति छ ।
घरधनी र सटर भाडामा लिएर व्यापार गर्नेहरुलाई साथ लिंदा फुटपाथ व्यापारीले बाध्यात्मक रुपमै भएपनि फुटपाथ छोड्ने र सटरमा व्यापार थाल्ने महानगरका एक अधिकारीले बताए । ‘सटरमा हुने व्यापार दर्ता हुन्छन् र कर तिर्छन्’, उनले भने, ‘फुटपाथको व्यापार हटाएपछि फुटपाथ मर्मत गर्छौं, हिँड्न योग्य बनाउँछौं ।’
महानगरपालिकाका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ सुविधा’ भएका भवनहरुको पार्किङ क्षेत्रमा नक्सा विपरीत राखिएका पसलहरु हटाउन पनि अभियान सुरु भएको छ । अहिलेसम्म करिब २०० भवनले महानगरमा अन्डरग्राउन्ड पार्किङ राख्ने गरी नक्सापास गरेका छन् । तिनको खोजी गरेर सडक र पेटीका पार्किङलाई त्यस्ता भवनहरुमा सार्ने महानगरको योजना छ । बानेश्वर क्षेत्रमा पनि भूमिगत पार्किङमा पसल राखेको भेटिएकाले हटाउन थालिएको उनले बताए ।
महानगर स्रोतका अनुसार अब फुटपाथ हटाउने काम मुख्य मुख्य चोकहरुबाट तीव्र पारिनेछ । व्यवसायी आफैंले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको महानगरपालिकाले बानेश्वरको अभियान दुई हप्ताभित्र सकेर अन्यत्र केन्द्रित हुने योजना बनाएको छ । त्यसका लागि कार्ययोजना बनिसकेको र क्रमैसँग कार्यान्वयन गर्दै लैजाने उनले बताए ।
‘फुटपाथबाट व्यापारी हटाउने काम बानेश्वरमा फत्ते गरेपछि अन्य क्षेत्रमा पनि सुरु हुन्छ’, ती अधिकारीले भने, ‘हामी पछाडि बस्छौं, स्थानीयलाई अघि सारेर सबैतिरको फुटपाथ व्यापार हटाउँछौं ।’