काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।
हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ । केही हप्तादेखि दैनिक रुपमा संक्रमणदर दोब्बर रुपमा बढ्नुमा ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ प्रमुख जिम्मेवार रहेको छ ।
पछिल्लो दिनमा नेपाल-भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । ‘अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ । नेपाल(भारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन् । ओमिक्रोनको उपप्रजातिले संक्रमण बढाइरहेको छ,’ डा। दासले भने, ‘यो चौथो लहरको पूर्वसंकेत हो ।’ भारतमा पनि संक्रमित सख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने डा. दास बताउँछन् ।
हालसम्मकै संक्रामक
जनस्वास्थ्यविदका अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ हालसम्मकै संक्रामक रहेको छ । जसले तीव्र गतिमा संक्रमण सार्ने क्षमता राख्दछ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ओमिक्रोनको उपप्रजाति ‘बीए।फाइभ’ले खोप लगाएका मानिसलाई पनि पुनः संक्रमणको लहरको रुपमा देखिने बताउँछन् । ‘बीए।फाइभले बढीभन्दा बढी मानिसलाई संक्रमण गर्छ । तर, विभिन्न देशमा देखिएको अनुसन्धानले अस्पताल भर्ना हुने संख्या कम देखिएको छ,’ डा. पुनले भने, ‘अहिले देखिएका पूर्वसंकेतहरुले पुनः संक्रमणको लहरतिर उन्मुख भएको भन्न सकिन्छ ।’
विभिन्न देशको तथ्यांक अनुसार अस्पताल भर्ना तथा मृत्यु गराउने क्षमता पछिल्ला भेरियन्टको भन्दा कम छ । ओमिक्रोनमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी बताउँछन् । यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।
बेलायतको पछिल्लो तथ्यांक हेर्दा अस्पताल भर्ना हुने दर ३० प्रतिशतले बढेको छ । डा.सुवेदीका अनुसार अघिल्लो लहर कति समय अगाडि आएको थियो, त्यो बिचको अवस्था के थियो, समुदायस्तरमा रोग प्रतिरोधात्मक क्षमता कस्तो थियो भन्ने आधारमा नयाँ भेरियन्ट आउँदा कतिको असर गर्छ भन्ने आंकलन गर्न सकिन्छ । ‘नेपालमा डेल्टा भेरियन्ट फैलिँदा धेरै मानिसको मृत्यु भयो । तर, ओमिक्रोन बढी घातक भएन । तेस्रो लहर फैलिएको एक वर्ष भइसकेको छ । त्यसकारण पनि यो ओमिक्रोनभन्दा बढी जोखिममा छ
खोपको प्रभावकारीता कम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९ लाख ६७ हजार ५७५ जना मानिस कोरोना संक्रमण भएर निको भइसकेका छन् । कोरोनाको लहर दोहोरिएसँगै खोप लगाएका मानिस पनि पुनः संक्रमित हुने देखिएको डा. अधिकारी बताउँछन् । भन्छन्, ‘खोप लगाउँदा लगाउँदै पनि संक्रमण हुने देखिएको छ । खोप लगाएका मानिसमा पनि गम्भीर हुनबाट बचाउँछ ।’
नेपालमा ओमिक्रोनको तेस्रो लहर ल्याउँदा अधिकांश मानिसलाई संक्रमण गराएका र खोपको प्रभावकारीता पनि कम भएको थियो । ओमिक्रोनभन्दा बढी संक्रामक रहेको ‘बीए.फाइभ’ खोपको प्रभावकारीता न्यून हुने देखिन्छ