धनकुटा । सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नको लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिँचाईको लागि समेत झोलुङ्गे पुल उपयोगीसिद्ध देखिएको छ । नदी पारीको प्रयोग बिहिन पानीलाई वारीको खेतियोग्य जमिनमा प्रयोग गर्न झोलुङ्गे पुल माध्यम बनेको हो ।
धनकुटाको सहिदभुमि– १ सफाईटारका स्थानीय किसानहरुले तमोर नदीपारी साँगुरी गढी गाँउपालिकाको लेमलेमा खोलावाट पानी ल्याएर सिँचाई गदै आएका छन् । गाँउपारी प्रयोग बिहिन पाखोमा खेरा गएको पानी गाउँसम्म ल्याउनको लागि नदीमा चार सय मिटरको पक्की कुल निर्माण गरीएको छ ।
पानीलाई तमोर नदी पारी तार्न भने करीव सात सय मिटर लामो फलामे पाइप मार्फत झोलुङ्गे पुलको प्रयोग गरीएको छ । नदी पारीको पानी वारी ल्याउने अन्य कुनै बिकल्प नभएपछि झोलुङ्गे पुल मार्फत ल्याईएको आयोजनाका पुर्बअध्यक्ष कुल बहादुर खड्का वताउनु भयो । “पारी पानी खेरा गइरहेको थियो हाम्रो तिरका जमिन बाँझा थिए बिचमा तमोर नदि भएकाले पानी ल्याउन सम्भब थिएन अनि साच्यौ तमोर नदिमा झोलुङ्गे पुल लगाउन पाएत घाँस दाउरा गर्न ओहोर दोहोर गर्न मात्र हैन पुलको प्रयोग गरि पानी वारी ल्याउन सकिन्छ भन्ने लाग्यो अनी झोलुङ्गे पुलको लागि पहल गयौ” खड्काले भन्नु भयो ।
वि.सं.२०२८ सालवाट नदीपारीको पानी वारी ल्याउन माग राख्दै आएका स्थानीयबासीले २०५३ सालमा तमोर नदी माथि जिल्ला बिकास समिति धनकुटाले पुल निर्माण गरेपछिमात्र सम्भव भएको थियो । पुल निर्माण भएपछि सुरु गरिएको सिँचाई आयोजना करिव नौ लाख रुपियाँको लागतमा २०५६ सालमा मात्र पुरा भई गाँउमा सिचाई सुबिधा पुगेको आयोजनाको अध्यक्ष हरी बहादुर खड्काले वताउनुभयो ।
उक्त आयोजनावाट २८ बर्ष यता सफाईटारका ५२ परिवारले करिव ५० हेक्टर जमिन सिँचाई गर्दै आएका छन् । सिचाईकै कारण स्थानीयको जीवनस्तरमा सुधार आएको छ । हाल उनीहरु ब्यबसायिक कृषि पेसा तर्फ आकर्षित भएका छन् । यहि आयोजनालाई आधार मान्दै धनकुटाको साप्तीङ्गटारमा समेत तमोर नदी पारीवाट अर्को आयोजना सञ्चालनको तयारी गरिएको सिचाई डिभिजन कार्यलय धनकुटाले जनाएको छ ।
यस्ता आयोजना धनकुटा बाहेक पहाडी क्षेत्रका लागि समेत उपयागी हुने सिचाई डिभिजन कार्यालय धनकुटाका सिनियर एसासिएसन अर्गनाईजर बुद्धिमान लिम्बु वताउनुभयो । यस प्रकारका आयोजना सञ्चालनले पानीको स्रोत भएका तर उपयोग बिहीन पानी नदी वा खोला तारेर बस्तीसम्म पुर्याउनका यस्ता पुल र आयोजना सफलसिद्ध हुने लिम्बुको भनाइ छ ।