23 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

बजेट निर्माणमा व्यस्त छन म्याग्दीका स्थानीय तह

म्याग्दी । म्याग्दीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९र८० का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन्। संघीय संरचनामा दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा भर्खरमात्रै वडा र पालिकाको नेतृत्व सम्हालेका जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकालको विकासको खाका यसै वर्षको नीति तथा कार्यक्रम र बजेटबाट कोर्नेछन्।

पाँच वर्षे कार्यकालको सुरूआतको गाउँरनगर अधिवेशन भएकाले पनि कस्तो खालको नीति तथा कार्यक्रम र बजेट ल्याउँछन् भनेर आम चासोको साथ हेरिएको छ। बेनी नगरपाकिालले असार १० गते नगरसभा गर्ने तयारी गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ७१ करोड १३ लाख बराबरको बजेट ल्याउने गृहकार्य गरिरहेको छ।

संघ र प्रदेश सरकारले पठाएको अनुदानमा नगरपालिका अनुमानित आम्दानीलाई समेत जोडेर बजेट निर्माणको तयारीमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए। नगरपालिकाले बजेटको सीमा निर्धारण गरी वडा र विषयगत समितिमार्फत् योजना छनोट सुरू गरेको छ। वडा नं ७ र ८ लाई रु ५०/५० लाख, वडा नं १, ४, ६ र १० लाई रु ५५/५५ लाख र वडा नं २, ३ र ९ लाई रु ६०/६० लाख बजेटको सीमा तोकिएको छ।

आर्थिक विकास समितिलाई रु दुई करोड, सामाजिक विकास समितिलाई रु दुई करोड ८० लाख, पूर्वाधार निर्माण समितिलाई रु चार करोड २० लाख, सुशासन तथा संस्थागत विकास समितिलाई रु ६५ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई रु ८५ लाख बजेटका सीमा तोकिएको छ।

वडालाई तोकिएको सीमाबाट वडास्तरीय र विषयगत समितिलाई निर्धारण गरिएको बजेटको सीमामा रहेर नगरस्तरीय योजना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए। नगरभित्र भूगोल र जनसङ्ख्याका आधारमा बजेटको सीमा निर्धारण गरिएको र टुक्रे योजनालाई हटाउने नीतिलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

उनका अनुसार नगरपालिकामा वडास्तरका योजना रु तीन लाख र नगरस्तरका योजनामा रु पाँच लाखभन्दा कम बजेटका हुने छैनन्। बजेटमा बेनी–पात्लेखेत सडक, खुलामञ्च, नगरबाट वडा कार्यालय जोड्ने बेनी–पुलाचौर, बेनी–भकिम्ली र बेनी–भकुण्डे सडकलाई प्राथमिकता दिएर योजना तर्जुमा गरिने जनाइएको छ।

त्यसैगरी सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सुझाव दिन गठित कार्यदलको सिफारिस बमोजिम शिक्षा क्षेत्रमा नगरपालिकाले विशेष सम्बोधन गर्ने तयारी गरिएको छ। रघुगंगा गाउँपालिकाले भौतिक पूर्वाधारसँगै सशक्तीकरण र रोजगार सिर्जना हुने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी गरेको छ।

दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्ष पदमा दोहोरिरहेका भवबहादुर भण्डारीले पहिलो कार्यकालमा भौतिक विकासको आधार तयार भएको बताउँदै यस वर्षदेखि नयाँ ढंगले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न लागिएको बताए।।

रघुगङ्गामा वडास्तरका योजनालाई घटाइएको छ। वडा नं २ र ३ लाई रु २५/२५ लाख, वडा नं ६ र ८ लाई रु २२/२२ लाख र अन्य सबै वडालाई रु २०र२० लाखको बजेटको सीमा दिइएको छ। वडास्तरका योजनाका लागि रु एक करोड ७४ लाख बजेटको सीमा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।

पूर्वाधार निर्माणसँगै शसक्तीकरण, सीपमूलक तालिम, रोजगार सिर्जना गर्ने क्षेत्र, पशुपालन र कृषिमा उत्प्रेरित गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट आउने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

असार ४ गतेभित्र वडास्तरीय योजना छनोट सकेर ५ गते विषयगत समितिको योजना छनोट गरी ९ गतेभित्र गाउँसभा गर्ने तयारी गरेको रघुगङ्गाले सामाजिक सुरक्षा भत्तासहित रु ५० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ। मङ्गला गाउँपालिकाले असार १० गते गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ।

अहिले वडास्तरमा बजेटको सीमा निर्धारण गरी पठाइएको र वडाबाट आएपछि विषयगत समितिमार्फत् पालिकास्तरका योजनाको टुंगो लगाइने प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए। मङ्गलामा वडा नं १ लाई रु ६५ लाख, वडा नं २ लाई रु ८५ लाख, वडा नं ३ लाई रु ५० लाख, वडा नं ४ लाई रु ३२ लाख र वडा नं ५ लाई रु ७५ लाखको बजेटको सीमा निर्धारण गरिएको छ।

भूगोल र जनसङ्ख्यालाई आधार बनाएर वडास्तरीय योजनाका लागि बजेटको सीमा निर्धारण गरिएको बताइए पनि वडा नं ३ र ४ का स्थानीयवासीले भने बजेट सीमामा विभेद गरिएको भन्दै विरोधसमेत जनाएका छन्। मङ्गलामा रु ४१ करोडको हाराहारीमा बजेट ल्याउने तयारी छ।

अन्नपूर्ण गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ। पहिलो चरणमा वडा स्तरका योजनाका लागि रु चार करोड ८० लाल बराबरको बजेटको सीमा तोकेर वडास्तरमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए।

उनका अनुसार वडा नं १ र २ लाई रु ५५/५५ लाख, वडा नं ३, ४, ७ र ८ लाई रु ६०/६० लाख, वडा नं ५ र ६ लाई रु ६५/६५ लाख बजेटको सीमा तोकिएको छ। वडास्तरीय योजना टुंगिएपछि विषयगत समितिमार्फत् पालिकास्तरीय योजनाको टुंगो लगाएर कार्यपालिकाबाट अनुमोदन भई गाउँसभामा पेश गर्ने तयारी छ। मालिका गाउँपालिकाले रु ४५ करोड बराबरको बजेट ल्याउने गरी गृहकार्य थालेको छ।

सात वडालाई कम्तीमा रु ५२ लाखदेखि बढीमा ६५ लाखसम्मको सीमा निर्धारण गरी वडास्तरका योजनाका लागि रु चार करोड बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए। गाउँसभाको मिति कार्यपालिका बैठकमार्फत टुंगो लगाइने उनले बताए। धवलागिरि गाउँपालिकाले समेत आन्तरिक रूपमा बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ। विभिन्न समितिको बैठक बसेर तयारीलाई अगाडि बढाइएको र वडा र विषयगत समितिलाई बजेटको सीमा कार्यपालिका बैठकपछि मात्रै निर्धारण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स