22.3 C
Kathmandu
Monday, August 11, 2025
spot_img

लालपुर्जा माग्दै “नो लालपुर्जा,नो भोट” अभियान

महोत्तरी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका केही स्वतन्त्र युवाले लालपुर्जा माग्दै ‘नो भोट’ अभियान थालेका छन् । गत निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो अभियान सुरु गरेको उनीहरूले बताएका छन् ।

जनप्रतिनिधिले ऐलानी जग्गामा बसोबास गर्नेलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्ने वाचा गरे पनि पूरा नगरेपछि बर्दिबास–३ का युवाले समूह बनाएर नो लालपुर्जा, नो भोट अभियान थालेको स्वतन्त्र युवा समूहका सह–संयोजक राम लामाले जानकारी दिए ।

‘कुनै राजनीतिक दलबाट परिचालन भएर अभियान थाल्यो भने आरोप लागेको छ,’ युवा समूहका रुद्र मंग्रातीले भने, ‘हामी परिचालित छैनौँ, सचेत भएर अभियान थालेका हौँ ।’ कुनै पार्टी र व्यक्तिविरुद्ध अभियान नभएको मंग्रातीले बताए । १५ वर्षदेखि बर्दिबास–३ को ऐलानी र अव्यवस्थित जग्गाको लालपुर्जा दिने भन्दै जनतालाई झुक्याएकाले नेताको बोलीलाई विश्वास नगर्न जनतालाई सचेत गर्न खोजेको उनको भनाइ छ ।

देशमा राजनीतिक अस्थिरता बढेको, भ्रष्टाचार मौलाएको र महँगी बढ्दै गएकाले त्यस्ता नेता नछान्न जनतालाई सुसूचित गर्नका लागि युवा समूह सक्रिय भएको उनीहरूको भनाइ छ । उनीहरूले सामाजिक सञ्जालबाट समूह पनि विस्तार गरिरहेका छन् । समूहमा गोलबन्द हुनेको संख्या बढ्दै गएकाले आउने निर्वाचनमा बर्दिबास ३ को नेतृत्व गर्न स्वतन्त्र युवा समूहबाटै योग्य व्यक्तिलाई उम्मेदवार बनाइने समूहले जनाएको छ । अभियानको विस्तार अन्य वडा र नगरभरि गरिने सहसंयोजक लामाले बताए । बर्दिबास–३ मा वर्षौंदेखि स्थानीय ऐलानी बसोबास गर्दै आएका छन् ।

बर्दिबासका नगर प्रमुख विदुर कार्कीले नगरभित्र बसोबास गर्ने सबै भूमिहीन सुकुम्बासी, दलित, अव्यवस्थित बसोवासी, ऐलानी जग्गालगायत एकैखाले समस्या भएका जग्गाको लालपुर्जा वितरण अन्तिम चरणमा रहेको बताए । सबैखाले जग्गा दर्ता भएर, नापनक्सा तयार गरी लगत संकलन भइसकेकाले नगरतर्फबाट गर्ने काम बाँकी नरहेको र आयोगका तर्फबाट वितरण गरौँ भन्न बाँकी रहेको कार्कीले बताए । मन्त्रालय र आयोगले लालपुर्जा वितरण सुरु गर्ने प्रक्रिया अघि बढाउनासाथ बर्दिबासको लालपुर्जा वितरण हुने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स