विराटनगर । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश १ का सबै पालिकामा आज बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ।
प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तहहरु छन्। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको सबै तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याइने छ।
मोरङमा पनि सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ। विराटनगर महानगरपालिकासहित मोरङमा १७ वटा पालिकाहरु छन्। कार्यालय स्थापनाको समय दिउँसो १ बजेलाई तोकिएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख एवं उपसचिव लेवन काश्यप अधिकारीले जानकारी दिए। उनका अनुसार मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरस्थित रेडक्रस भवनमा स्थापना गरिने छ।
विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने अधिकारीले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अरु निर्वाचन अधिकृतको कार्यालयसँग पनि समन्वय हुने छ। मोरङका अन्य १६ वटा निर्वाचन अधिकृतको कार्यालय भने सम्बन्धित स्थानीय तहमै रहने छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइएको बताए। उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक पर्ने भवन, सिसी क्यामेरा जडान, सवारीसाधन, फर्निचर, सञ्चार लगायतका सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ। त्यस्तै सवारी चालक र अंग रक्षक १–१ तथा कार्यालय सहयोगी २ जना हुने छन्। निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर, सवारी चालक र अंग रक्षक गरेर १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ। निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी नियुक्त गर्दा स्थानीय तहमा कार्यरतलाई प्राथमिकता दिइने प्रजिअ दाहालले बताए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उम्मेदवार तथा सरोकारवालाहरुसँग समन्वय एवं अन्तरक्रिया गर्ने, सुरक्षालाई लिएर प्रजिअसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी निर्वाचन अधिकृतहरुको हुने छ। त्यस्तै मतदाता नामावली प्रकासन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै काम गर्ने जिम्मेवारी पनि छ।