25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

कोरोना विरुद्ध खोप लगाउनेको सङ्ख्या घट्दो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ । अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो । खोप लगाउन पहुँच आवश्यक हुने अवस्थासमेत थियो । तर, अहिले खोप केन्द्रमा खोप लगाउन मानिस खासै जाँदैनन् । अधिकांश खोप केन्द्र खाली देखिने गरेका छन् । केही हप्ताअघिसम्म टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने मानिस दैनिक हजारौँ सङ्ख्यामा हुन्थे । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पथ्र्यो । अब टेकु अस्पतालमा खोप लगाउन जाँदा लाम लाग्नैपर्दैन ।

शुक्रबार सो खोप केन्द्रमा खोप लगाउने मानिस नै आएनन् । अस्पतालका आकस्मिक विभाग प्रमुख लीलानाथ भण्डारीले हाल टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या मुस्किलले दुईदेखि तीन सयसम्म पुग्ने गरेको बताउनुभयो । यस्तै, वीर अस्पतालमा पनि एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मले कोरोनाविरुद्धको खोप लगाउने गरेकोमा हाल मुस्किलले दुई सय जनाले खोप लगाउने गरेका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। भूपेन्द्रकुमार बस्नेतले अहिले वीर अस्पतालमा रहेको खोप केन्द्र प्रायः खाली हुने गरेको बताउनुभयो ।

बानेश्वरस्थित निजामती अस्पतालमा विगतमा दैनिक तीन हजारसम्मले खोप लगाउने गर्थे । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलले हाल दैनिक दुई सय जना पुग्न मुस्किल हुने गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सतप्रतिशत खोप कुनै पनि देशमा सम्भव नहुने दाबी गर्नुभयो । “८२ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाउनु ठूलो उपलब्धि हो । खोपको अभाव छैन । हामीसँग पर्याप्त मात्रामा खोप छ,” उहाँले भन्नुभयो, “अब छिटै ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइनेछ ।” मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नलगाउनेका कारण खोप लगाउनेलाई घात गर्न सक्ने भन्दै खोप नलगाइदिँदा खोप लगाएका मानिस कोरोनाको उच्च जोखिममा रहने बताउनुभयो ।

नेपालमा दैनिक आठ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएकोमा हाल ४० देखि ५० हजारलाई खोप लगाउने गरिएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले रोजीरोजी खोप पाउने अवस्था हुँदा पनि मानिस खोप लगाउन नगएको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स