मकवानपुर । बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने र खर्च बढाउने उद्देश्य अनुरुप टुक्रे योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको बजेट खर्च हुने अवस्था नरहेपछि खर्च बढाउन र कार्याकर्ताहरुलाई लक्षित गरेर धमाधम टुक्रे योजना वितरण सुरु गरेको हो । प्रदेश सरकारले स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनमा आवद्ध दलका कार्यकर्ता लक्षित गरेर ५ लाख दरका २ हजारभन्दा बढी टुक्रे योजना वितरण गरेको छ ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा चालु आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न गर्ने गरी २ हजार ३ सय टुक्रे योजनालाई बजेट बाँडफाँट गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सरकारले संसदबाट बहुमतले पारित गरेको बजेटको प्रयाप्त कार्यान्वयन गर्न सकेको छैन ।
बजेटमा समावेश भएका योजना कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा साना योजना बनाउनुले कार्यकर्ता पोस्ने तयारी रहेको देखिन्छ । अघिल्लो सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्दा सरकारलाई अप्ठ्यारोमा पर्ने बुझाइका कारण मुख्यमन्त्री पाण्डेले वैकल्पिक मार्गबाट बजेट स्थानान्तरण गरी नयाँ योजनाहरू वितरण गरेका हुन् ।
सरकारले पूरक बजेट मार्फत् बजेटको हेरफेरको तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण मुख्यमन्त्री पाण्डेको त्यो योजना सफल भने हुन सकेन । उक्त योजना विफल भएपछि फागुन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले ती योजनाहरु पारित गरि उपभोक्ता समितिमार्फत खर्च गर्ने बाटो समातेको छ ।
सोही अनुसार प्रदेश सरकारले अर्थ तथा विविध शीर्षकबाट करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको योजना जिल्लागत रूपमा वितरण गरिएको मन्त्रालयले जनाएको हो । वितरण गरिएको सबै योजना ५ लाख रूपैयाँसम्मका रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसबाट प्राप्त भएको योजनालाई आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पनि विनियोजन गरिसकेको छ ।
डोरमणि पौडेल नेतृत्वका सरकारले १० लाख रुपैयाँभन्दा कम बजेटको योजना कार्यान्वयन नगर्ने नीति अवलम्बन गरेको थियो । उक्त नीति अनुरुप प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा माथिका योजनाहरु ल्याउनु पर्ने हुन्छ । तर हालका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले सो नीतिलाई पूर्ण रूपमा बेवास्ता गरेको देखिन्छ ।

