28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु, जेठ २ बाट व्यावसायिक उडान

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिनुभयो ।

क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उहाँको भनाइ छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते बुद्ध पूर्णिमा देखि भने व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताउनुभयो । उहाँले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताउनुभयो ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स