काठमाडौं । स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पुर्याएका हुन् । स्थानीयले बाटोमा नाराबाजी गरेका थिए । स्थानीय वडा अध्यक्ष मनोहरि तिवारीले बाटो नबनेसम्म फोहोर विसर्जन गर्न नदिइने बताउनुभयो ।
आइतबार बिहान करिब ५ बजे फोहोर बोकेको सवारीसाधन सिसडोल पुगेको थियो । दोस्रोपटक फोहोर लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए । सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले पासाङल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डमा स्थानीय बासिन्दाले अवरोध गरेकाले दर्जनौं सवारीसाधन बाटैमा रोकिएपछि सिसडोल पुर्याउन नसकी बीच बाटोबाटै फर्किएको बताउनुभयो ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले फोहोर व्यवस्थापनको अवरोध हटाउन छलफल भइरहेको जानकारी दिनुभयो । ठेकेदार र स्थानीयबीच वार्ता गरी समास्या समाधान गर्ने विषयमा छलफल गरिरहेको छ ।
पटकपटक अवरोध हुँदा राजधानीलगायत उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधान नगरे थप समस्या आउन सक्छ ।