29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

काठमाडौं । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आएपनि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूर्ण मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने छ ।” उहाँले महानगरलाई यस विषयमा पटकपटक लिखित र मौखिक रुपमा जानकारी गराइरहे पनि सोअनुरुप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताउनुभयो । “मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका छौँ”, मुनाकर्मीले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब दुई किमीमा छ । उडानसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल साइट हुनुहुँदैन । ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरुङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ । लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताउनुहुन्छ । उहाँले डम्पिङ साइटको स्थान टुङ्गो लगाएर मात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने बताउनुभयो । पुरानो ठाउँमा बाक्लो माटाले पुरेर र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार अब विमानस्थलमा ‘फिनिसिङ’का केही काम बाँकी छन् । वर्षायाम शुरुअघि नै ‘अपडेट स्ट्रक्चर’लगायत कार्य सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । यसबाहेक निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ, त्यससँगै विमानस्थल सञ्चालनपूर्व नै पानीको निकासमा देखिएको समस्यालाई पनि समाधान गर्नुपर्ने हुन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी कार्यदलका संयोजक विक्रम गौतम विमानस्थल क्षेत्रमा ल्याण्डफिल साइट हुँदा त्यस क्षेत्रमा आउने चराका कारणले उडान जोखिम बढाउने भएकाले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार महानगरको ढिलासुस्तीले उडान सञ्चालनमा चुनौती थप्ने छ । चरा विज्ञसँगको छलफलअनुसार तत्काल यसको व्यवस्थापन गर्न सके ४० प्रतिशत चराको गतिविधि त्यहाँबाट रोक्न सकिनेछ । त्यसबाहेक पनि विमानस्थल आसापास खोलाका किनार, फोहोर, नभचर बासस्थानका कारण पनि त्यस क्षेत्रमा देखिने चरालाई पनि रोक्नुपर्ने अर्को चुनौती छ ।

पोखरामा स्थानीयसँगै आगन्तुक चराको पनि चहलपहल बढी भएकाले गार्डिङ, साइरन, शिकारी र अन्य उपकरणको प्रयोग गरेर गतिविधि न्यूनीकरण गर्न सकिने गौतमले बताउनुभयो । चरा उडान शतप्रतिशत रोक्न सम्भव नहुने उहाँको भनाइ छ । उहाँले ‘एक्सेप्टेबल लेभल अफ सेफ्टी’लाई ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँका अनुसार पोखरा चराका हिसाबले अत्यन्त ‘भल्नरेबल’ ठाउँ भएकाले वर्षमा केही समय एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । विशेष गरी सेप्टेम्बरमा धेरै चराले बच्चा पाउने र कोरल्ने गतिविधि हुने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स