8.1 C
Kathmandu
Saturday, February 24, 2024
spot_img

पाखो बारीको सुन्तलाले दुई गाउँको कमाइ बढायो

दाङ । दाङमा पहिलो व्यावसायिक सुन्तला खेतीको नतिजा उत्साहप्रद देखिएको छ। जिल्लाको पहाडी क्षेत्र बंगलाचुलीमा गरिएको सुन्तला खेतीले स्थानीय किसान उत्साहित बनेका छन्। बंगलाचुली गाउँपालिका–५ का साकिने र कुडुले गाउँमा गरिएको व्यावसायिक खेतीमा लटरम्म सुन्तला फलेपछि किसान खुसी छन्। उनीहरूले सुन्तला बेचेर आम्दानी गर्न थालेका छन्।

साकिनेमा सुन्तलाको व्यावसायिक खेती सुरू भएको ६ वर्ष भयो। यसमा स्थानीय सरकारको पनि सहयोग छ। साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न वडा नम्बर ५ को वडा कार्यालयले दस लाख रूपैयाँ र जिल्ला कृषि ज्ञान केन्द्रले ४० लाख रूपैयाँको सुन्तलाका बिरूवा किसानलाई अनुदानमा उपलब्ध गराएका थिए।

वडा नम्बर ५ का वर्तमान वडाध्यक्ष लीलाबहादुर घर्तीका अनुसार उक्त अनुदानपछि किसानहरू व्यावसायिक खेतीमा अघि सरेका हुन्। घर्तीको पहिचान वडाध्यक्षमा मात्रै सीमित छैन। उनी आफू पनि सुन्तला खेतीमा लागेका छन्। उनको गाउँमा उनी सबभन्दा धेरै जमिनमा व्यावसायिक सुन्तला खेती गर्ने किसान हुन्। उनको बगैंचामा हाल करिब दुई सय बोट छन्। हाम्रो घरमा झन्डै सात सय जति बोट थिए, उनले भने, छुट्टीभिन्न भएपछि मेरो भागमा दुई सय हाराहारी बोट छन्।ु

गाउँमा सुन्तलाको व्यावसायिक खेती गर्नुपर्छ भन्ने र खेती सुरू गर्ने आफू नै पहिलो व्यक्ति भएको उनको दाबी छ। उनको बारीका सुन्तलाबोट सबै नयाँ हुन्। गत वर्ष फाटफुट फल लाग्यो। यस वर्ष आधाभन्दा बढी बोटमा फल लटरम्म छ। टिपेको सुन्तला सबै बिक्री भइसक्यो।

आधा जति सुन्तला बिक्री भइसक्यो,ु उनले भने, टिप्न बाँकी पाँच क्विन्टल जति होला। घर्ती नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। सशस्त्र द्वन्द्वकालमा उनी माओवादी लडाकु थिए। देशमा शान्ति प्रक्रिया सुरू भएपछि उनी आम्दानीको कुनै काम गर्न चाहन्थे। तर केही पनि सुझेको थिएन।

व्यावसायिक रूपमा नभए पनि गाउँमा कतैकतै सुन्तलाका बोट थिए। तिनमा राम्रै फल लाग्थ्यो। घर्तीका अनुसार करिब ४० वर्षअघि केही व्यक्तिले दार्जिलिङबाट बिरूवा ल्याएर रोपेका थिए। जनयुद्धबाट घर फर्केपछि केही व्यवसाय गर्ने सोच थियो तर काम भएको थिएन,  उनले विगत स्मरण गरे, केही नयाँ सुरूआत गरौं भनेर सुन्तलाको व्यावसायिक खेती थालेँ। सिंगो गाउँलाई फलफूलको पकेट क्षेत्र बनाउने योजनाअनुरूप यो काम गरेको हुँ।

स्थानीय एक सहकारी संस्थामार्फत् सुन्तलाको व्यावसायिक खेती गर्ने योजना बनेको हो। खेती सुरू गर्नुअघि घर्ती सुन्तला खेतीबारे बुझ्न गोरखा गएका थिए। त्यसपछि सल्यान पुगे। सल्यान जाँदा सहकारीका पदाधिकारीलाई पनि साथमा लगे। दुई जिल्लाको अध्ययन भ्रमणपछि स्थानीय कृषि प्राविधिकसँग परामर्श गरे। सुन्तला फल्ने भूमिको अवस्थिति, माटो, मौसम, स्याहार लगायत अन्य आवश्यक पक्षहरूमा सल्लाह गर्दा उनको गाउँमा सुन्तला राम्रो फल्छ भन्ने ठहर भयो।

त्यसैअनुसार आफू र अन्य गाउँलेहरू सुन्तलाको व्यावसायिक खेती गर्न अग्रसर भएको घर्तीले बताए। कृषि प्राविधिकका अनुसार सुन्तला समुद्री सतहबाट आठ सयदेखि एक हजार मिटरसम्मको उपचाइमा फल्छ। राम्रो फाइदा लिन १२ सयदेखि १५ सय मिटरको उचाइ उचित हुन्छ। साकिने गाउँको माथिल्लो भाग १५ मिटर हाराहारी छ।

वडाधयक्ष घर्तीको बगैंचा रहेको क्षेत्र साढे १३ सय मिटरजति उचाइमा छ। वडा नम्बर ५ मा यसअघि पनि नेकपा माओवादी केन्द्रकै नेता वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। घर्तीले तत्कालीन वडाध्यक्षलाई सुन्तलाका बिरूवा खरिदका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव पेस गरे। वडाध्यक्षले स्वीकार गरे।

त्यस्तो प्रस्ताव लिएर दुवै जना स्थानीय पहाडी कृषि सहकारीु मार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रमा पनि पुगे। वडाले दिने अनुदानको चार गुणा केन्द्रले दिने भयो। ज्ञान केन्द्रले सहकारी मार्फत अनुदान रकम उपलब्ध गराएपछि किसानलाई व्यावसायिक सुन्तला खेती गर्न सहज भयो।

सहकारी संस्थाले स्थानीय किसानको माग बमोजिम सल्यान लगायत केही जिल्लाबाट चरण चरणमा बिरूवा खरिद गरेर साकिने र कुडुले गाउँका किसानलाई उपलब्ध गरायो। सहकारीमा आबद्ध अधिकांश किसान परम्परागत अन्नबाली छोडेर सुन्तला खेतीमा लागे। साकिनेका ७३ परिवारमध्ये ५० भन्दा बढी परिवार सुन्तला खेतीमा छन्, वडाध्यक्ष घर्तीले भने, मकै, गहुँ, जौ र कोदो लगाउने गरेको पाखो जमिनमा सुन्तला फल्न थालेको छ।

पाखो जमिनमा अन्नबाट भन्दा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि किसानहरू उत्साहित भएका छन्। सोचेअनुरूप अन्न उत्पादन हुँदैन। सुन्तला खेतीका लागि यहाँको उचाइ र हावापानी उचित भएको निष्कर्ष आएपछि हामी सुन्तलामै लागेका हौं, उनले भने, हामीले भविष्यमा वडा नम्बर ५ लाई सुन्तला र फलफूलको पकेट क्षेत्रका रूपमा विकास गर्न चाहेका छौं।

पहिलो चरणमा रोपेका सुन्तलाका बोट ६ वर्ष र दोस्रो चरणका चार वर्ष उमेरका भएका छन्। बिउबाट उमारेको बिरूवाले पाँच वर्षमा र आधुनिक विधिबाट उत्पादित बिरूवाले तीन वर्षमा फल दिन सुरू गर्छ। एकपटक बिरूवा हुर्काएपछि धेरै वर्ष फल दिने भएकाले पनि किसान सुन्तलामा आकर्षित उनको भनाइ छ।

हामीले पूर्ण रूपमा लाभ लिन थालेका छैनौं। बोटले भर्खरै फल दिन थालेका छन्, उनले भने, अबको दुई–तीन वर्षपछि राम्रो लाभ लिन सक्छौं। वडा कार्यालयले किसानलाई आवश्यक परामर्शका लागि प्राविधिक खटाउने र बजारीकरणमा मद्दत गर्ने उनले बताए।

कठिन श्रम गर्नु नपर्ने, एक पटक रोपेको बिरूवाले थुप्रै वर्ष फल दिने र जनावरले धेरै क्षति नपुर्‍याउने भएकाले पनि सुन्तला खेतीमा आकर्षित भएको साकिनेका किसान टोपबहादुर पुनको भनाइ छ।

सहकारीका कर्मचारी र जान्नेसुन्ने सबैले अन्नबाट भन्दा सुन्तलाबाट बढी लाभ लिन सकिन्छ भनेपछि आफू त्यसमै लागेको उनले बताए । मध्यपहाडी क्षेत्र अमिलो जातका फलफूलका लागि राम्रो मानिन्छ। बगैंचाका सुन्तला पहेँलपुर हुँदैछन्। भविष्यमा निकै राम्रो आम्दानी हुने आशा छ, उनले भने।

वडा नम्बर ४ मा पनि फाटफुट रूपमा सुन्तलाको व्यावसायिक खेती सुरू भएको छ। गाउँपालिका अध्यक्ष तुलसीराम पुन आफ्नो पालिकामा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुन थालेपछि प्रसन्न भएका छन्। बजारीकरण र प्रवर्द्धनमा गाउँपालिकाले मद्दत गर्ने उनले बताए । किसानहरू पनि गाउँपालिकाबाट प्राविधिक ज्ञान र तालिमका लागि सहयोग होओस् भन्ने चाहन्छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स