काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाउने कार्यका लागि इच्छुक संघसंस्थाहरूसँग आवेदन मागेको छ।
महानगरका अनुसार, आर्थिक वर्ष २०८२/८३ अन्तर्गत बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्न चाहने संस्थाले १५ दिनभित्र कृषि तथा पशुपन्छी विभागमा आवेदन दिनुपर्नेछ।
महानगरले बन्ध्याकरण तथा खोपको दर प्रतिगोटा २ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। आवेदन दिन इच्छुक संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, महानगरको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाण, कुकुर–बिरालो बन्ध्याकरणसम्बन्धी अघिल्लो अनुभव, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका साधन, सेल्टर र बन्ध्याकरण कक्षको प्रमाण तथा आवश्यक सामग्रीको व्यवस्था सम्बन्धी कागजात पेश गर्नुपर्नेछ।
कृषि तथा पशुपन्छी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, आवेदन पेस गर्ने संस्थाको पूर्वाधार मूल्याङ्कन गरी छनोट गरिनेछ। छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने र कामको प्रगति नियमित रूपमा अनुगमन गरिनेछ।
महानगरले हरेक वर्ष सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा ५५ सय कुकुर–बिरालो बन्ध्याकरण गरिएका र १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको थियो। त्यस्तै २०८१/८२ मा ६ सय ७० बन्ध्याकरण र १६ हजार ५ सय ६९ रेबिज खोप कार्यक्रम सम्पन्न गरिएको महानगरले जनाएको छ।

