काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट प्रदर्शन गर्ने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ।
मन्त्रालयका अनुसार गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा, शासकीय प्रक्रिया सुधार, विकास व्यवस्थापनमा पहिचान गर्नुपर्ने क्षेत्र र स्वस्थ प्रतिस्पर्धी भावना जगाउने उद्देश्यले लिसा प्रणाली कार्यान्वयनमा ल्याइएको हो। यस वर्षको मूल्याङ्कन गुणस्तर परीक्षण सम्पन्न भइसकेको र सोही आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
सम्मान पाउने स्थानीय तहमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रहेका छन्।
यी स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गरिनेछ। सोही अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भ समेत गरिने मन्त्रालयले जनाएको छ।