21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

धमिलो पानी पस्न थालेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरियो

काठमाडौं । नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ। सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

‘धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘तीन चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ। खोलामा धमिलो पानी बगुञ्जेल काठमाडौं पानी पठाउन सकिन्न।’ गत जेठमा सुरूङभित्र ढुंगा बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो। तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको पन्तले बताए।

२०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो। अहिले पनि पुरिएको बाँध क्षेत्र खोतलिएको छैन। संरचनाहरू जस्ताको तस्तै छन्। परियोजनाले झन्डै २० करोड खर्च गरेर अस्थायी तवरले पानी ल्याउँदै आएको छ।

गत असार २ गते बाँध क्षेत्रको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथाशीघ्र पहुँचमार्ग निर्माण गर्ने बताएका थिए। मेलम्ची पुलबजारबाट २२ किलोमिटर उत्तरपश्चिममा रहेको बाँध क्षेत्र पुग्न अहिले कतै खोलाको किनार, कतै खोलैबाट अस्थायी बाटो बनाइएको छ। मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले आफ्नै स्रोत सामर्थ्यबाट बाटो बनाएका हुन्।

संघीय सरकारले चनौटेको रातो पुल रहेको ठाउँमा नेपाली सेना लगाएर बेलिब्रिज हालेको छ। तर, अम्बाथान अडिट र मुख्य बाँध क्षेत्र पुग्न पुलको अभाव छ।
प्रधानमन्त्री प्रचण्डले सरकारले निर्णय गरेर स्थायी तवरले पहुँचमार्ग बनाउने प्रतिबद्धता जनाएका थिए। भू गर्भविदहरूले मेलम्ची खानेपानी परियोजनाभन्दा माथिको क्षेत्र भ्रेमथाङमा झन्डै एक करोड ५ लाख घनमिटर गेग्रान थुप्रिएर रहेको अनुमान गरेका छन्।

तीन किलोमिटर लम्बाइ चौडाइको समथर भूभागको छेउबाट पहिरो चल्दा मेलम्ची परियोजनाको बाँध क्षेत्र पुरिएको थियो भने तल्लो तटीय क्षेत्र बगरमा परिणत भएको थियो।बाँध क्षेत्रमाथि पहिराको जोखिम रहेकाले सार्नुपर्ने परियोजनाको दातृ निकाय एशियाली विकास बैंकले प्रारम्भिक निष्कर्ष निकालेको छ। यद्यपि उसले विस्तृत प्रतिवेदन तयार पारिसकेको छैन।

अहिले बनाइएको बाँध क्षेत्रमाथि दोरिङको पहाडै खस्न ठिक्क परेकाले त्यहाँबाट सार्नै उपयुक्त हुने सुझाव उसको छ। परियोजना रहेको क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा पनि बाँध सारिनुपर्ने बताए। यस विषयमा पनि अवलोकन क्रममा प्रधानमन्त्री प्रचण्डले चासो राख्दै भनेका थिए, ‘इन्टेकको पनि समस्या देखियो। पहिरो जाला कि भन्ने डर छ। हामीले वैकल्पिक तयारी पनि गर्नुपर्ने देखियो।’

सरकारले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ। मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने र यसले मात्रै काठमाडौंको माग धान्न नसक्ने हुँदा याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७ करोड लिटर पानी थप्ने योजना थियो। अहिले ट्र्याक खोल्ने काम मात्रै भएको छ। सुरूङमार्फत् मेलम्चीको पानी काठमाडौं ल्याउन अहिलेसम्म ३१ अर्ब खर्च भएको आयोजनाका प्रवक्ता पन्त बताउँछन्। त्यस्तै उप(आयोजना अन्तर्गत् काठमाडौं उपत्यकामा पानी वितरणका लागी प्रणाली तयार पार्न ३१ अर्ब नै खर्च भएको छ। यो काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स