28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी ककनी र धुनीबेँसीलाई दिने महानगरको योजना

काठमाडौं । आफूले फोहोर लैजाँदा बाधा र अवरोध भएको भन्दै काठमाडौं महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी दिने नयाँ योजना अघि सारेको छ । अन्य जिल्लाका स्थानीय तहमा महानगरले फोेहोर लैजाँदा उनीहरूबाट पटक–पटक अवरोध उत्पन्न हुने गरेकाले त्यहीँका स्थानीय तहलाई जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको हो ।

यद्यपि, यो प्रस्ताव महानगरले ‘ड्राफ्ट’ मात्रै गरेको छ । ककनी र धुनीबेँसी पालिकासँग यसबारेमा कुनै छलफल भने गरेको छैन । काठमाडौं महानगरका अनुसार दुई स्थानीय तहले आ–आफ्नो ‘साइट’ हेर्ने गरी फोहोर व्यवस्थापनको जिम्मा दिन लागिएको छ । बन्चरेडाँडास्थित नयाँ ल्यान्डफिल्ड साइट धुनीबेँेसी नगरपालिकालाई हस्तारन्तरण गर्ने योजना महानगरको छ । फोहोर ढुवानी, व्यवस्थापन, प्रभावितका समस्या समाधान, सडक–बिजुली तथा अन्य समस्याको हल पनि धुनीबेँसी र ककनीले गर्नेछन् । त्यस्तै, ककनी क्षेत्रमा पर्ने प्रभावितहरूलाई ककनी गाउँपालिकाले नै व्यवस्थापन गर्नेछ ।

नयाँ योजनाअनुसार महानगरले काठमाडौंको फोहोर उठाएर ककनीसम्म मात्रै पुर्‍याउनेछ । त्यहाँबाट उता फोहोर व्यवस्थापन गर्ने, स्थानीयका समस्या समाधान गर्ने, उनीहरूको चित्त बुझाउनेलगायत जिम्मेवारी दुई पालिकाकै हुनेछ । तर, यसबापत लाग्ने सबै खर्च महानगरले नै व्यहोर्नेछ । ‘काठमाडौंको फोहोर त्यहाँ लैजाँदा दुई स्थानीय तहले नै अवरोध गर्ने सम्भावना देखिन्छ र हामीले त्यहाँका स्थानीयको मन बुझ्न पनि गाह्रो छ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘त्यसकारण उनीहरूलाई व्यवस्थापन गर्न चाहिने रकम र अन्य सहजीकरण गरिदिने गरी महानगरले फोहोर व्यवस्थापनको जिम्मा दिने योजना अघि सारेका हौँ ।’

फोहोर व्यवस्थापनबाट हुने आम्दानी पनि दुई स्थानीय तहले नै लिने उनको भनाइ छ । डम्पिङ क्षेत्रमा काम गर्ने कर्मचारी पनि उनीहरूले नै राख्न सक्नेछन् । काठमाडौं महानगरले उपत्यकाको फोहोर उठाउने र ककनीसम्म मात्रै पुर्‍याउनेछ । तर, त्यहाँबाट ककनी साइट ककनी गाउँपालिकाले नै हेर्नेछ । त्यस्तै, धुनीबेँसी क्षेत्र प्रवेश गरेपछि धुनीवेशीकै जिम्मा हुनेछ । तर, ढुवानीदेखि फोहोर व्यवस्थापनमा लगानी महानगरले गर्नेछ । यसबारे महानगरका मेयर बालेन्द्र शाहले सम्बन्धित पालिकाका प्रमुख उपप्रमुखसँग प्रस्ताव लैजाने तयारी गरेका छन् । मेयर र प्रवक्ताबीच यसबारेमा छलफल भने भइसकेको छ भने ड्राफ्ट पनि तयार पारिएको छ । ‘यदि सम्बन्धित गाउँपालिकाहरू सहमत भए भने यो तरिका उपयुक्त हुने मेयरज्यूले बताउनुभएको छ । यस विषयमा उहाँसँग मेरो छलफल पनि भएको छ । यो प्रभावकारी होलाझैँ लाग्छ,’ मानन्धरले भने ।

हाल स्थानीयले विभिन्न माग राख्दै फोहोरका गाडी अवरोध गर्दै आएका छन् । उनीहरूले गएको २६ जेठमा महानगरसँग १८ बुँदे सहमति पनि गरेका छन् । तर, महानगरले उनीहरूका माग पूरा गर्न भने समय लाग्ने जनाएको छ । स्थानीयले सडक व्यवस्थित पार्नुपर्ने, लिचेड सडकमा चुहिन दिन नहुने, सडकबत्ती जडान गर्नुपर्ने, फोहोर क्यापिङ गर्ने, सडक तथा फोहोर फालिने ठाउँमा कीटाणु मार्ने र दुर्गन्ध हटाउने औषधि छर्कनुपर्ने माग राख्दै आएका छन् ।

ककनी र धुनीबेँसी गाउँपालिका काठमाडौं महानगरको प्रस्तावप्रति सकारात्मक देखिएका छन् । ककनी गाउँपालिकाका करिब १५ सय र धुनीबेँसी नगरपालिकाका करिब चार सय घरधुरी फोहोरबाट प्रभावित छन् । उनीहरूका माग महानगरले पूरा नगर्दा समस्या बल्झिरहेको छ । नजिकका स्थानीयलाई नै त्यस क्षेत्रको कामको जिम्मेवारी दिने हो भने समाधान हुने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स