काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका स्थानीय सरकारहरुलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियामा व्यापक प्रचार–प्रसार गर्न आग्रह गरेको छ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै गाउँपालिका र नगरपालिकालाई लिखित रूपमा निर्देशन पठाउँदै मतदाता दर्ताबाट छुट भएका नागरिकलाई निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता वा अद्यावधिक गराउन आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको हो।
निर्णयमा उल्लेख भएअनुसार, “प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिकमा छुट भएका व्यक्तिहरूलाई निर्वाचन कार्यालयमा पुग्न स्थानीय तहले सक्रिय रूपमा प्रचार–प्रसार गर्नु पर्ने” भनिएको छ।
आयोगको निर्देशनसहित आएको पत्राचारपछि स्थानीय तहहरूले सम्बन्धित क्षेत्रमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र मतदाता दर्ता प्रक्रियामा नागरिकलाई सहजीकरण गर्ने तयारी थालेका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय र समावेशी सहभागिता सुनिश्चित गर्न आयोगले मतदाता नामावली अद्यावधिकलाई पहिलो प्राथमिकताका रूपमा लिएको जनाएको छ।

