17.1 C
Kathmandu
Wednesday, December 24, 2025
spot_img

नयाँ मतदाता थपिँदै, संख्या २ लाख ९ हजार नाघ्यो

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै नयाँ मतदाता दर्ता अभियान तीव्र गतिमा अघि बढेको छ । मंगलबारसम्म देशभर थपिएका नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार मात्र २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार यीमध्ये पुरुष १ लाख २२ हजार ७४० जना, महिला ८६ हजार ७८५ जना र अन्य २७ जना रहेका छन् ।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको हो । यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

१८ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त व्यक्तिहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । सार्वजनिक बिदाबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न पाइनेछ ।

विवाह, बसाइँ सराइ वा अन्य कारणले ठेगाना परिवर्तन गरेका नागरिकले मतदाता नाम स्थानान्तरण गर्न सक्नेछन् । साथै, नामावलीमा त्रुटि परे सच्याउन पनि सकिनेछ ।

सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न आयोगले उच्च चाप भएका जिल्लाहरूमा दैनिक दुई सिफ्टमा १२ घण्टा सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना अतिरिक्त दर्ता कर्मचारी खटाइएको छ ।

त्यस्तै, अन्य जिल्लामा पनि सेवाग्राहीको चापअनुसार थप जनशक्ति खटाउन गृह मन्त्रालयमार्फत व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स