काठमाडौं । टोखा नगरपालिकाले श्रमिकहरूको हक, हित र अधिकार संरक्षणलाई लक्षित गर्दै नगरपालिकाको कार्यालय परिसरमै श्रम डेस्क स्थापना गरेको छ। श्रम डेस्कको औपचारिक शुभारम्भ नगर प्रमुख प्रकाश अधिकारीले गर्नुभएको हो।
नगरपालिकामा कार्यरत श्रमिक, जनप्रतिनिधि, बागमती प्रदेशका प्रतिनिधि, श्रम निरीक्षक, श्रमिक अधिकारका क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा आयोजित कार्यक्रममा श्रम डेस्क स्थापनाको आवश्यकता र औचित्यमाथि छलफल गरिएको थियो।
श्रम डेस्कमार्फत श्रमिकहरूको दर्ता गर्ने, परिचयपत्र वितरण गर्ने, श्रमिकका गुनासा तथा उजुरी सुनुवाइ गर्ने, श्रमिक र रोजगारदाताबीच समन्वय कायम गर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने तथा श्रम अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
नगरपालिकाका अनुसार श्रम डेस्कले विशेष गरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकलाई सुरक्षित र सम्मानजनक रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यसमेत राखिएको छ।
टोखा नगरपालिकाले श्रम डेस्क स्थापना गर्न सहयोग गर्ने विभिन्न संघ–संस्था तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै, नगरभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आग्रह गरेको छ।

