25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

भुक्तानी नपाएपछि निर्माण व्यवसायी दोस्रो चरणको आन्दोलनमा

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । काम गरेको भुक्तानी सरकारले उपलब्ध गराएको भन्दै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अगाडि बढाएका हुन् । महासङ्घको नेतृत्वमा बुधबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिट्ठी जुलुस गरेका हुन् । विरोध सभामा सात प्रदेशका ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू सहभागी भएका हुन् ।

महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासङ्घ सचिवालय अनामनगरबाट सुरु भएको जुलुस संसद् भवन नयाँ बानेश्वरअगाडि कोणसभामा परिणत भएको थियो । सो अवसरमा महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नु परेको बताउनुभयो ।

महासङ्घका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिट्ठी फुकेर ध्यानाकर्षण गराइएको बताउनुभयो । कोणसभामा निर्माणसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले महासङ्घको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले निर्माण व्यवसायीको अर्बौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताउनुभयो ।

निर्माण व्यवसायीको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवालगायतका व्यवसायीलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीका जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियर्स फर्मसका महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताउनुभयो ।

सुदूरपूर्वको नेतृत्व गर्दै निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष मिलन बस्नेत तथा सुदूरपश्चिमको नेतृत्व गर्दै निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष नीरञ्जन भट्टले राजधानी केन्द्रित महासङ्घको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाउनुभयो ।

व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् । महासङ्घको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका व्यवसायीहरू राजधानी आएका छन् । आन्दोलनलाई आगामी शुक्रबारसम्म निरन्तरता दिइने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स