सिरहा । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी भएपछि गाउँपालिकाको कार्यालय अहिले अस्पतालकै भवनबाट सञ्चालन भइरहेको छ । भवन जलेर पूर्ण रूपमा ध्वस्त भएपछि तत्काल सेवा प्रवाहमा अवरोध आएको थियो । हाल स्थानीय औरही अस्पतालको माथिल्लो तल्लामा गाउँपालिकाका विभिन्न शाखा सञ्चालनमा आएका छन् ।
गाउँपालिका अध्यक्ष शिवजी यादवका अनुसार, नयाँ प्रशासकीय भवन निर्माणाधीन भएकाले तत्काल अर्को विकल्प नहुँदा अस्पतालकै भवन प्रयोग गर्नुपर्ने बाध्यता आएको हो । उनले भने, “पुरानो भवन उपयोग गर्न असम्भव भयो, त्यसैले अस्पतालसँग सहकार्य गरेर अस्थायी रूपमा सेवा सञ्चालन गरेका छौँ । नयाँ भवन यसै आर्थिक वर्षभित्र तयार पार्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ ।” उनका अनुसार, करिब रु ७ करोड ९४ लाख १८ हजार ८९० लागतमा भवन निर्माण भइरहेको छ ।
अस्पतालकै भवनमा गाउँपालिकाको कार्य प्रारम्भ भएपछि दुबै पक्षको कार्य सञ्चालनमा समस्या देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवका अनुसार, कार्यालयका कर्मचारीहरूलाई पर्याप्त स्थान नहुँदा प्रशासनिक कार्य कठिन भएको छ भने सेवाग्राहीलाई समेत असहज भइरहेको छ ।
हाल गाउँपालिकाको प्रमुख प्रशासकीय कक्षसहित शिक्षा, स्वास्थ्य, न्यायिक समिति र अन्य शाखाहरू अस्पतालको माथिल्लो तल्लामा सञ्चालनमा छन् । कोठा अभावका कारण अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष समेत न्यायिक समितिको हलमा व्यवस्थापन गरिएको छ । कृषि, पशुपन्छी र राजस्व शाखा भने कृषि सेवा केन्द्रको भवनबाट सञ्चालन भइरहेको छ ।
अस्पताल प्रमुख उपेन्द्र यादवले भने, गाउँपालिकाको प्रशासनिक काम सुरु भएपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएको बताएका छन् । “गाउँपालिकाका सेवाग्राहीको भीडभाडले बिरामीलाई उपचार दिन कठिन भइरहेको छ,” उनले भने, “कोठा अभावका कारण बहिरङ्ग, प्रसूति तथा प्रशासनिक कामसमेत बाधित भएका छन् ।”
पन्ध्र शय्या क्षमताको अस्पतालमा अहिले पाँच शय्या मात्र सञ्चालनमा छन् । दैनिक एक सय हाराहारी बिरामी उपचारका लागि आउने हुँदा भीडभाडका कारण स्वास्थ्यकर्मीहरूलाई सेवा प्रवाहमा थप चुनौती बढेको अस्पताल प्रशासनले जनाएको छ ।
गाउँपालिकाले भने नयाँ प्रशासकीय भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको र भवन पूरा भएलगत्तै सेवा पुरानै स्थानबाट सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

