काठमाडौं । तीन दिनपछि अर्थात यही मंसिर ४ गते आइतकार दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्ने आज बिहिबार अन्तिम दिन हो । निर्वाचनको मौन अवधि (स्थिर समय) आज राति १२ बजेदेखि प्रारम्भ हुनेछ । आज राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने भएकाले निर्वाचन आयोगले निषेध गरेका प्रचार–प्रसारसहितका अन्य कुनै पनि चुनावी गतिविधि गर्न पाइँदैन ।
निर्वाचन आयोगले ४८ घण्टा अघिदेखि निर्वाचन प्रचार–प्रसारसहितका अन्य गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता २०७९ ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन सचेत गराएको छ । आयोगको निर्देशन अनुसार आज राति १२ बजेसम्म राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार–प्रसारमा सक्रिय हुन पाउने छन् ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रारम्भ हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल,उम्मेदवारलगायत सर्वसाधरणलाई सचेत गराएका छन् ।
मतदान केन्द्रबाट ३ सय मिटर वरिपरी कुनै पनि दल वा उम्मेदवारको प्रचार–प्रसार सामग्री भए तत्काल हटाउनु पर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको भण्डारीले उल्लेख गरेका छन् । भण्डारीले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनीसमेत दिएका छन् । भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार–प्रसारसम्बन्धी सामग्री आज राति १२ बजेसम्म हटाउन पनि निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचार–प्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो ।

