29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पालभित्रै भूकम्पपीडित: पुनर्निर्माणमा अझै ढिलाइ

जाजरकोट । आठबिसकोट नगरपालिका–१४ रुकुमपश्चिम छेपारेका वीपेन्द्र जैसीलाई कात्तिक १७ गते मध्यरातमा भएको घटनाले अझै झस्काइरहन्छ। त्यस दिन भूकम्पमा परिवारका सबै सदस्य गुमाउनु पर्दाको पीडा उनका लागि निकै पीडादायी बन्यो। यो पीडाबाट आफूलाई समाल्न उनी अझै सक्दैनन्। परिवार सम्झन्छन्, बारम्बार भकानिन्छन्।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी श्रीमती, एक छोरा र दुई छोरी गरी चार जना परिवार जैसीले गुमाए। उनी त्यतिबेला मजदुरीका लागि भारत गएकाले मात्रै बाँचे। घटना सुनेपछि भावविह्ल हुँदै घर फर्केका उनका आँखा अझै ओभाएका छैनन्।

तीन दिनपछि घर आइपुग्दा लालाबाला र श्रीमतीको दाहसंस्कार भइसकेको थियो। श्रदाञ्जलिसमेत दिन पाएनन्। उनका आँखाले अहिले पनि परिवार खोजिरहन्छ। भत्किएको घर हेरेर टोलाइरहन्छन्। यहीँ पीडामा घरको भग्नावशेषसमेत निकाल्न सकेका छैनन्। राहत स्वरूप पाएको टेन्टमा बसिरहेका छन्। ‘परिवारका सबै सदस्यलाई निष्ठुरी दैवले लियो। ओत लाग्ने घर भत्कियो। सबै उजाडियो, बाँकी केही रहेन। अब जिन्दगीको नयाँ सुरुवात कसरी गर्ने, केही सोच्न सकेको छैन। हातमा पैसा छैन। रोजगारी छैन। अब कसरी घर बनाउँ रु’, उनले दुखेसो पोखे।

भेरी नगरपालिका–३ जाजरकोटकी गीता शाहका आँसु अहिले पनि थामिएका छैनन्। उनको घर भत्किँदा भाइको ज्यान गयो। उनी आफंै पनि घाइते छिन्। घर खण्डहरमा परिणत भएको छ। भाइ गुमाएको पीडा त छँदै छ ओत लाग्ने घर भत्किएपछि मन पनि विरक्तिएको छ। उनले भनिन्, ‘दुःख जिलो गरेर छोराछोरी पढाएका थियौं। अब छोराछोरी पढाउँ कि, घर बनाउँ। भत्किएको घर अझै पन्छाउन सकेको छैन। दिन प्रतिदिन चिसो बढिरहेको छ। त्रिपालको चिसोमा कहिलेसम्म बस्नुपर्ने हो, टुंगो छैन।’

जाजरकोटको भूकम्पमा पनि उनीहरू जस्तै धेरै परिवारको घरवार उजाडिएको छ। आफन्त गुमे, बस्ने घर भत्कियो। चिसोले सताइरहेको छ। ओत लाग्ने अस्थायी र पक्की घर कसरी बनाउने भन्ने अहिलेसम्म केही टुंगो छैन। पीडित अन्यौलमा छन्। तर, सरकारी सहयोग र पुनर्निर्माणको योजनाले गति लिएको छैन।

अस्थायी आवास बनाउन अलमल
१ सय ५४ जनाको ज्यान जाने गरी जाजरकोटको रामीडाँडालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पको तथ्यांक संकलनमा भएको ढिलाइले पीडितहरूलाई त्रिपालबाट अस्थायी आवासमा सार्ने सरकारी योजना अलमलमा परेको छ। भूकम्प गएको एक महिनासम्म पनि क्षतिको पूर्णविवरण आउन नसक्दा पुनर्निर्माणका काम अघि बढ्न सकेका छैनन्।

त्रिपालको बसाईले नागरिक प्रभावित
समयमा अस्थायी आवास नबनाउँदा भूकम्पपीडित त्रिपालमा चिसोमा बस्न बाध्य छन्। चिसोका कारण त्रिपालमा बसेका भूकम्पपीडित सुत्केरी, बालबालिका र वृद्धवृद्धाको ज्यान जान थालेको छ। पीडितले तत्काल त्रिपालबाट अस्थायी आवास अर्थात् न्यानो घरमा सार्ने व्यवस्था मिलाउन माग गरेका छन्। भेरी नगरपालिका–१ का मधुकर नेपालीले पीडित चिसोले मर्न थालेकाले सरकारले तत्काल आफैंले न्यानो घर बनाइदिनुपर्ने माग गरे। ‘अनुदानको प्रक्रियामा जाँँदा–जाँदै हिउँद सकिहाल्छ। कसरी यति चिसो हिउँद थेग्ने’, उनले प्रश्न गरे।

भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुमपश्चिमका करिब ६२ हजार परिवारहरूको बास त्रिपालमा छ। चिसो बढ्दै गएको र त्रिपालको बसाईका कारण जोखिम समूहमा रहेका सुत्केरी, गर्भवती, बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूलाई चिसोले सताउन थालेको छ।

अस्थायी आवासका लागि रकम निकासा
अस्थायी आवासका लागि जाजरकोटको शिवालय गाउँपालिकाले अस्थायी आवास निर्माण अनुदानअन्तर्गत प्रथम किस्ता बापतको रकम २५ हजारका दरले हुन आउने ८ करोड २७ लाख २५ हजार रकम उक्त स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। शिवालयमा रकम निकासा भए पनि आवास कहिलेदेखि बन्ने केही टुंगो छैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स