29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

खोप माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी चालक आन्दोलनमा

काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानी दोस्रो दिन पनि बागमती प्रदेशमा अवरुद्ध भयो । कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट सुरु गरेको अवरोध सोमबार पनि जारी रह्यो ।

बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगन्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकहरू खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा संगठित चालकहरूले संघमा आवद्ध २४ सय चालक तथा सहचालकलाई खोपको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।आइतबारबाट सुरु भएको चालकहरूको आन्दोलनका कारण अमलेखगन्ज डिपोमा भारतबाट हुने पेट्रोलको आयात ठप्प भएको छ । अमलेखगन्ज डिपोबाट बागमती प्रादेशिक डिपो थानकोट र यहाँबाट प्रदेशभरिका पम्पहरूमा हुने ढुवानी पनि अवरुद्ध छ ।

निषेधाज्ञाले पेट्रोलियम खपत न्यून रहेका कारण असर कम देखिए पनि चालकहरूको आन्दोलनले प्रदेशको समग्र वितरण प्रणाली अवरुद्ध भएको निगमको थानकोट डिपोले जनाएको छ ।

अहिलेसम्म सरकारी तथा सहकारीका ट्यांकर र पम्पहरूले माग धानेका छन् । यस्तै अवस्था केही दिन रहे पेट्रोलियम अभाव देखिन थाल्ने डिपो प्रमुख अभिषेक ठाकुरले बताए ।

आन्दोलित ट्यांकर चालकहरूले भने आफूहरूमाथि अन्याय भएको बताएका छन् । विराटनगर, भैरहवा र नेपालगञ्ज डिपोले आफ्नो मातहतका चालकलाई खोप लगाएको उनीहरूले जनाएका छन् ।  चालकहरूको ढुवानी अवरोधका कारण दैनिक २४ लाख डिजेल, पेट्रोलको ढुवानी तथा वितरण प्रभावित भएको डिपोले जनाएको छ ।

भारत पुगेर इन्धन ल्याउने अमलेखगञ्ज र थानकोटका चालकलाई खोपको व्यवस्था नगरेर अन्याय गरेको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

कोरोनाविरुद्धको खोप लगाउन नपाएको भन्दै सेवा रोकेका ट्यांकर चालकको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै देशभरका पम्प सञ्चालकहरूले आइतबार बेलुका विज्ञप्ति निकाले । आफूहरुले पनि पटक–पटक खोपका लागि सरकारको ध्यानाकर्षण गराएको तर पूरा नभएको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले चालकलगायतको पेट्रोलियम क्षेत्रका सबैको माग पूरा गर्न सरकारलाई आग्रह गर्‍यो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स