24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शीतभण्डारमा राखेको आलुको बीउ कुहिँदा कानेपोखरीका किसान मर्कामा

उर्लाबारी । मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताउनुभयो ।

उहाँका अनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दै आएका किसान पहिलो पटक यस्तो समस्या आएको बताउनुभएको छ ।

चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले आलु रोप्न बारी तयार गरेपछि सहकारी संस्थाले शुक्रबार बीउ आलु ल्याएको थियो । आलुका सबै बोरा फुटेका, आलु कुहिएको पाइएको छ । आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका छन् ।

एक साताअघि आएका अविरल वर्षाले धानमा पुगेको अपुरणीय क्षति बिर्सिन नपाउँदै आलु कुहिएपछि किसान तनावमा परेका छन् । स्थानीय मातृभूमि कृषि सहकारी संस्था लि.को स्थापना नै किसानको बीउ आलु भण्डार गर्ने उद्देश्यले भएको थियो । २०५२ सालमा तत्कालीन बयरवन ९ र ८ का किसानले आलु समूह गठन गरेर गाउँका किसानको आलु विराटनगर लगेर राख्ने गरेका थिए । त्यही आलु समूह कृषि सहकारीमा रुपान्तरण भएपछि हालको गाउँपालिकाभरिका किसानको आलु सहकारीकोे समन्वयमा भण्डारण हुँदैआएको छ ।

उता दमकस्थित शान्ति शीत भण्डारका ब्यवस्थापक खेम काफ्लेले शीत भण्डारको २० प्रतिशत आलु बिग्रिएको स्वीकार्नुभयो । उहाँका अनुसार २ हजार क्विन्टल आलु भण्डारण भएकोमा ४ सय क्वीन्टल आलु कुहिएको छ ।

उहाँले विद्युत् प्रसारण रोकिएर आलु कुहिएको किसानको भनाइप्रति असहमति जनाउनुभयो । कुनै दिन विद्युत आपूर्ति रोकिएको छैन् । यो वर्ष बिर्तामोड, विराटनगर, काठमाडौं, पाल्पा र चतराको कोल्डस्टोरमा पनि आलु कुहिएको बताउनुभयो । १४ वर्ष यता पहिलो पटक समस्या आएकोले कृषि ज्ञान केन्द्र र आलु विज्ञ, बैज्ञानिकसँग पनि परामर्श र छलफल भइरहेको काफ्लेले बताउनुभयो । उहाँले किसानलाई ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स