29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मनाङमा सुरु नै नभई सकियो शैक्षिक सत्र

मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मंसिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।

गत चैतमा शैक्षिक सत्र सुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए । यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए । जिल्लाभरका २८ विद्यालयमा जम्मा ६ सय २ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

‘दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ,’ नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विकले गाउँपालिकामा दुई आधारभूत विद्यालय रहेको र यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्ने बाध्यता रहेको बतानुभयो।

त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन् । अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन । ‘गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र सुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो,’ तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भन्नुभयो. ।

उहाँका अनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त्य हुने गर्छ । केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन् ।

आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ ।

अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन् । कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उहँको भनाइ छ ।

भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती शिक्षकलाई छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने र जाडो मौसममा यातायातसमेत चल्न नसक्ने हुँदा बाहिरबाट यहाँ आएर पढाउने शिक्षकले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ ।

यस शैक्षिक सत्रमा विद्यार्थीको संख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ । यो वर्ष अब हिमपात सुरु हुने भएकाले प्राकृतिक नाकाबन्दी सुरु हुने गर्दछ । ‘प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ’, स्थानीयवासीको प्रश्न छ । फागुन, चैतदेखि शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लाका विद्यालयमा दसैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुने गर्दथे ।

पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै झण्डै १२ महिना बितेको छ । हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको अन्नपूर्ण माविका प्रधानाध्यापक घिमिरेले बताउनुभयो। फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ ।

दसैँ तिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स