24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राप्ती शिक्षालयको १८ बिघा जमिन लुम्बिनी सरकारलाई उपलब्ध गराइने

रुपन्देही/ दाङको देउखुरीमा रहने लुम्बिनी प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा उपलब्ध गराइने भएको छ । संघीय सरकारको चैत ५ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राप्ती प्राविधिक शिक्षालयको नाममा रहेको १७ बिघा १९ कट्ठा ४ धुर जग्गा संघीय सरकारले प्रदेश सरकारका नाममा उपलब्ध गराउने भएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन देउखुरीमै राख्ने गरी दुई महिनाअघि नै सभामुख पूर्णबहादुर घर्तीसहितको टोलीले स्थगतल निरीक्षणसमेत गरिसकेको छ । तत्काल शिक्षालयको भवन उपलब्ध भएको अवस्थामा बैठक राख्न सकिने निष्कर्षसहित प्रदेशसभा सचिवालयले राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार दिन प्रदेश सरकारमार्फत अनुरोध गरेको थियो । प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले जग्गा र संरचना उपलब्ध गराउने निर्णय गरेको हो ।
संघीय सरकारले प्रदेशका प्रमुख सचिवलाई लेखेको पत्रमा जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी प्रदेश सरकारलाई उपयोग गर्न दिने उल्लेख छ । ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरूको गुणस्तरीय प्रशिक्षणलाई वैकल्पिक व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकारको स्रोतसाधनसमेत परिचालन गर्ने गरी राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना र चर्चेको चार किल्लाभित्र रहेको कित्ता नं १ र १८ को १७ बिघा १९ कट्ठा ४ धुर ऐलानी पर्ती जग्गा तथा त्यसभित्रको भौतिक संरचनाको स्वामित्व नेपाल सरकारमा रहने गरी लुम्बिनी प्रदेश सरकारलाई उपयोग गर्न स्वीकृति दिने’ उल्लेख छ ।

राप्ती स्वास्थ्य प्राविधिक शिक्षालयमा अहिले १ हजार ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई स्थानीय सरकारको सहकार्यमा नजिकैको विद्यालयमा स्थानान्तरण गर्ने तयारी पनि सुरु भएको छ । विद्यार्थी व्यवस्थापनका लागि राप्ती र गढवा गाउँपालिकाका दुई विद्यालय आदर्श र सरस्वती मावि रोजिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स