24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना सङ्क्रमण बढेपछि दिक्तेल रुपाकोट मझुवागढीमा निषेधाज्ञा

खोटाङ । कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारीद्धारा जारि विज्ञप्तिमा भनिएको छ । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र सङ्क्रमित दर उच्च देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको जनाउँदै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी, संस्थान, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयको सेवा स्थगन , नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजालगायतका भीडभाड हुने सबै क्षेत्र बन्द, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पूर्वस्वीकृति लिएर आउने नगरवासीले अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कोभिड अस्पतालले सिफारिस गरेका बिरामीलाई मात्र नगरपालिकाले सिफारिस गरेको अस्पतालमा गाडीमार्फत पुर्याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, मास्क र स्यानिटाइजर प्रयोग गरी भौतिक दूरीजस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने÷गराउने निर्णय भएको छ । दिक्तेल बजारकै एकजना सङ्क्रमितको मृत्यु भएपछि नगरपालिकालाई गत जेठ ७ गतेदेखि केही समय बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाखयता दुई हजार २०६ मा कोरोना सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा हालसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स