21 C
Kathmandu
Wednesday, September 27, 2023

उपत्यकामा मौसमी फ्लूका बिरामी बढ्दो, सतर्क रहन चिकित्सकको सुझाव

काठमाडौं। पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढीरहँदा मौसमी फ्लूका बिरामीको सङ्ख्यामा पनि वृद्धि भैरहेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा मौसमी फ्लूका लक्षणहरु धेरै देखापरेको उपचारमा संलन्न चिकित्सकले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पछिल्लो समय कोरोनाका लक्षणसँग मिल्दाजुल्दा लक्षण भएका मौसमी फ्लूका बिरामीहरु उपचारका लागि टेकुमा धेरै आउने गरेको बताउनुभयो । मानिसहरु भेरै तनावमा भएका कारण पनि यस्ता बिरामीहरु बढ्दै गएको हुन सक्ने उहाको भनाइ छ । वर्षमा दुई पटक फागुन,चैत र साउन, भदौमा मौसमी फ्लूका बिरामीहरु देखिने उहाँले बताउनुभयो । कोरोनासँग मौसमी फ्लूका लक्षणहरु मिल्दो भएका कारण उपचारका लागि आउने विरामीहरुलाई कोरोना परीक्षणका लागि आग्रह गर्नेगरेको तर धेरैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा. पुनले बताउनुभयो । उपचारका लागि आउने बिरामीको सङ्ख्या हेर्दा उपत्यकामा मात्र नभई उपत्यकाबाहिर पनि मौसमी फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उहाँको दावी छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि पछिलो केही हप्तायता उपचारका लागि आउने बिरामीहरुमा मौसमी फ्लूका बिरामीहरु धेरै भेटिएको अस्पतालका उपनिर्देशक डा.सन्तकुरमार दासले बताउनुभएको छ । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा आउने बिरामीहरुमा कोरोनाका लक्षणसँग मिल्दाजुल्दा लक्षण भएमा मौसमी फ्लूका बिरामीहरु बढी देखिएको उहाँको भनाइ छ ।

पछिल्लो समय कोरोना भाईरस र मौसमी फ्लूका लक्षणहरु मिल्दोजुल्दो भएकाले यसलाई छुट्याउन गाह्रो हुने डा. पुनले बताउनुभयो । पुनका अनुसार मौसमी फ्लूका बिरामीमा सामान्य रुघाखोकी,ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षणहरु देखिन्छ भने कोरोना सङ्क्रमण भएका बिरामीहरुमा यी लक्षणसहित थप स्वाद हराउने ,गन्ध हराउने,शरीर दुख्ने,अक्सिजन लेभल र श्वासप्रश्वासमा समस्या आउने हुन्छ ।

कोभिड १९ र मौसमी फ्लूका बिरामीमा देखिने लक्षणहरु समान किसिमका भएका कारणले पनि थप जटिलता आउन सक्ने डा. पुन बताउनुहुन्छ । सामान्य रुघाखोकी ,ज्वरो र टाउको दुख्ने लक्षणहरु मौसमी फ्लूमा पनि देखिन सक्ने भएकाले यस्ता लक्षणहरु देखिनासाथ उपचारमा लाग्न उहाँको आग्रह छ । तर श्वासप्रश्वासमा समस्या, गन्ध,स्वाद नै थाहा नपाउने ,शरीर दुख्ने भएमा मौसमी फ्लू नभई कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भएकाले यस्तो अवस्थामा पिसीआर परीक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।

डा. पुनका अनुसार मौसमी फ्लू कोरोना सङ्क्रमणको तुलनामा छिटो संक्रामक हुन्छ । कोरोना सङ्क्रमण पाँचदेखि १० दिनभित्रमा सङ्क्रमितबाट अरुमा सर्दछ भने फ्लू चार दिनमै फैलिसक्ने हुन्छ त्यसकारण मौसमी फ्लूमा विशेष ख्याल गर्नु आवश्यक रहेको पुनले बताउनुभयो । तातो झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने , खोक्दा, हाछ्युँ गर्दा हातले नाक, मुख छोप्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नाले पनि मौसमी फ्लुबाट बच्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स