24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मिटरब्याज कर्जाले डुबेकाहरुको दुखेसो : ऋण तिर्दा पनि जेलमा थुने

वीरगंज । बारा र रौतहटका तीन परिवारले मिटरब्याजीलाई कारबाही गर्न माग गरेका छन्। बारा, कलैया उपमहानगरपालिका–२ का युगलकिशोर यादव, महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादव र रौतहटको मौलापुर नपा–८ सोनरनियाका दयाशंकरप्रसाद यादवको परिवारले विभिन्न व्यक्तिमाथि मिटरब्याजीको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन्।

उनीहरुले बाराको आदर्शकोतवाल गापा–३ बस्ने अनिलकुमार प्रियदर्शी र उनकी पत्नी रम्भा यादव, रुबी कुमारी, सिम्रौनगढ नपा–८ का रामदिनेशप्रसाद यादव, कलैया उपमनपा–८ खपरताता बस्ने सुनीलकुमार ठाकुरलगायतलाई मिटरब्याज लिएको आरोपमा कारबाहीको माग गरेका हुन्।

मिटरब्याजकै कारण रौतहट, मौलापुर नपा–८ सोनरनियाका दयाशंकरप्रसाद तीन महिनादेखि गौर कारागारमा छन्। चेक बाउन्स मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको आदेशअनुसार उनीमाथि जरिवाना र थुनामा राख्ने आदेश भएको हो। दयाशंकरले २०७६ भदौमा १४ लाख ऋण लिएको र अहिलेसम्म ४४ लाख रुपैयाँ दिइसक्दा पनि ३९ लाखको मुद्दा अदालतमा चलिरहेको छ। अनिल प्रियदर्शी, रामदिनेश यादव र रुबी कुमारीले गरी पटक–पटकमा ४९ लाख बराबरको आठवटा चेक लिइसकेको र ऋणीले दिएको पैसाको भर्पाईसमेत नगरेको कारण आफूहरु कानूनको नजरमा दोषी देखिएको र छोरो जेल पुगेको बुधवार पत्रकार सम्मेलनमा दयाशंकरकी आमा सुनैना देवीले गुनासो गरिन्।

१४ लाखको कर्जामा सयकडा ८ रुपैयाँको दरले मासिक ब्याज जोड्ने काम भएको पीडित परिवारजनको आरोप छ। १४ लाख कर्जा भुक्तानीको लागि सोनरनियाकै १२ कट्ठा जग्गा बिक्री गर्नुपरेको र २ बिघा जग्गा धितो राखेर कर्जा फिर्ता गरिएको उक्त परिवारको भनाइ छ। त्यसैगरी, महागढीमाईका किशोरीप्रसाद यादव पेशाले शिक्षक हुन्। उनी अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलिया माविका प्रधानाध्यापक हुन्। पत्रकार सम्मेलनमा उनका भतिजा ओमनारायण यादवका अनुसार ठूलोबुबाले अनिल प्रियदर्शी, रम्भा यादवसँग ७५ लाख कर्जा लिएकोमा अहिलेसम्म तीन वर्षको अवधिमा ५ करोड नगद दिइसकेको र ३ कट्ठा वीरगंजकै मूल्यवान जग्गा पनि दिइसकेको बताए।

कलैया उपमनपा–२ का युगलकिशोरको परिवारले २७ लाखको कर्जामा ८१ लाख बराबरको कागज गरेको देखिएको छ। धाक, धम्की र परिबन्धमा पारी दोब्बर–तेब्बर कागज गराई कर्जा दिने व्यक्ति अनिल प्रियदर्शी, रामदिनेश यादव र सुनीलकुमार ठाकुरले पटक–पटक गरी नगद र बैंकमार्फत ८१ लाख लिइसकेको र अहिले पनि ८१ लाख मूल्य बराबरको मुद्दा बारा जिल्ला अदालत र जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजमा खेप्नुपरेको अस्ट्रेलियामा रहेका युगलकिशोर बताउँछन्। चेक बाउन्सकै मुद्दामा उनी करिब एक महिना थुनामा पनि बसेको बताउँछन्। मिटरब्याजकै कारण उनको कलैया उपमनपा–१६ उत्तर झिटकैयामा रहेको ४९ कट्ठा खेत र वडा नं। २ मा रहेको साढे ८ धुर घडेरीमा अढाइ तल्ले घर पनि बैंकले लिलाम गरेर कब्जामा लिएको बताए।

युगलकिशोरले व्यवसायको क्रममा एनआइसी एसिया बैंकबाट ऋण लिएका थिए र उनको जग्गाको प्रथम रोक्का बैंकले गरेको थियो भने दोस्रो रोक्का अनिल प्रियदर्शीले गराइदिँदा उक्त जग्गा समयमा बेच्न खोज्दा पनि बिक्री नभएको उनीहरुको आरोप छ। जसले गर्दा जग्गा बैंकको लिलामीमा चढ्यो र उक्त परिवार अहिले बेहाल भएको पीडितले जनाए।

अनिल प्रियदर्शी नेरा आधारभूत विद्यालय नौतनको प्रधानाध्यापक भएको कारण कागजी कारोबार आफू संलग्न नभई नातागोता तथा अन्य साथीभाईलाई यस गतिविधिमा संलग्न गराएर यस्तो धन्दा चलाइरहेको बारेमा पनि स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन्। नेपाल सरकारले मिटरब्याजको घटनालाई सूक्ष्म किसिमले छानबिन गर्न जिल्ला प्रहरी र प्रशासन कार्यालयमार्फत उजूरी लिइरहेको छ। जसअन्तर्गत बारामा ४५ वटा र पर्सामा ८३ वटा उजूरी परेको बताइएको छ। घटनाका आरोपी अनिल प्रियदर्शीले भने दयाशंकरसँग ८ लाख लेनदेन रहेको र बाँकी कसले कोसँग रकम लिएको र के आरोप लगाएको बारेमा आफूलाई जानकारी नभएको बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स