26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।
यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिराकोसमेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा जनाइएको छ । बाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन सबैमा अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, “जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनसम्म विभिन्न स्थानमा मेघगर्जनसहित निरन्तर वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह खतरा तहसम्म पुग्न गई बाढी, नदी कटान डुबानको उच्च जोखिम रहेको छ ।” नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा रहन वा जानसमेत प्रशासनले आग्रह गरेको छ ।

यसैबीच निरन्तरताको वर्षाका कारण माडीका १६८ घर डुबानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका–१, ३, ४, ६ र ७ का ती घर डुबानमा परेका हुन । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ ।

निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स