20.9 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

बाजुराका विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

बाजुरा । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ ।

सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको पन्तले बताउनुभयो ।

बूढीगङ्गा, बडीमालिका, बूढीनन्दा र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह, हिमाली, गौमूल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका विद्यार्थीलाई खोप दिन स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर महेश चन्दले जानकारी दिनुभयो । नौ पालिकाका २२ हजार ४०८ मध्ये १६ हजार ८०६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप लगाउन पाउने छन् ।

“खोपको मात्रा १६ हजार मात्र उपलब्ध भएको छ, बाँकीलाई थप खोपको मात्रा उपलब्ध भएपछि लगाइनेछ”, उहाँले भन्नुभयो । नौवटै पालिकाका विद्यालयमा एकसाथ खोप दिन थालिएको हो । यसका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरिएको छ । जिल्लाभरि १३४ खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिएको पन्त बताउनुहुन्छ ।

बडीमालिकाका दुई हजार ९०५ मध्ये दुई हजार १९७ जनाले खोप लगाउन पाउने छन् । बूढीगङ्गाका तीन हजार ७३८ मध्ये दुई हजार ९६३ जनाले, त्रिवेणीका तीन हजार ५६३ मध्ये दुई हजार ६७२, बूढीनन्दाका तीन हजार ४२ मध्ये दुई हजार २८२, खप्तड छेडेदहका तीन हजार २१७ मध्ये ८१४ तथा गौमूलका एक हजार २७१ मध्ये ९५३ बालबालिकाले मोडर्ना खोप लगाउन पाउने छन् ।

यसैगरी स्वामीकार्तिक खापरका एक हजार ७१८ मध्ये एक हजार २८९, हिमालीका हजार ५०६ मध्ये एक हजार १३० तथा जगन्नाथका एक हजार २३५ मध्ये ९२६ बालबालिकाले मोडर्ना खोप लगाउने छन् ।

खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बाजुरामा हालसम्म एक लाख १८ हजार व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो चरणमा ६५ हजारले तथा दोस्रो चरणमा ५३ हजार व्यक्तिले खोप लगाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स