20.9 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

दूध उत्पादक किसानलाई बागमती प्रदेश सरकारद्धारा अनुदान

हेटौंडा । गत आर्थिक वर्षमा ४१ हजार लिटर दूध बेच्ने काभ्रे पनौतीका रमेश आचार्यले बागमती प्रदेश सरकारबाट ६७ हजार रुपैयाँ अनुदान पाउने छन् । प्रदेश सरकारबाट अनुदान पाउने भएपछि उनले त्यो रकम गोठ सुधारमा खर्च गर्ने योजना बनाइसकेका छन् ।

४० वटा गाईं भैंसी पालेर पशुपालनलाई नै मुख्य पेशा बनाएका उनका लागि प्रदेश सरकारले अनुदान दिन लागेको रकम अतिरिक्त आम्दानी जस्तै भएको छ । ‘अनुदानको व्यवस्थाले हामीलाई धेरै ठूलो राहत भएको छ’, आचार्यले भने, ‘अरु त हामीले गरिरहेकै छौं, गाइभैंसी थप्न यसले हामीलाई सहज भएको छ ।’

गाउँकै लिलावती साना किसान कृषि सहकारीलाई दूध दिँदै आएका उनका लागि प्रदेश सरकारले अनुदानको रकम सहकारीमार्फत नै पठाएको छ । सहकारीले साधारणसभामा सम्मानसहित रकम हस्तान्तरण गर्ने योजना बनाएको छ । यो सहकारीले प्रदेशमै सबैभन्दा धेरै ५८ लाख ५५ हजार ५ सय ४० रुपैयाँ नगद अनुदान प्राप्त गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ३५ लाख ७४ हजार ८ सय ११ लिटर दूध संकलन गरेको थियो ।

लिलावती साना किसान कृषि सहकारी जस्ता बागमती प्रदेशका २ सय ६० वटा सहकारी संस्थामा आवद्ध किसानका लागि प्रदेश सरकारले अनुदान दिएको छ । २०७६ सालदेखि किसानलाई दूधमा अनुदान दिन थालेको प्रदेश सरकारले गएको आर्थिक वर्षमा १६ करोड रुपैयाँ वितरण गरेको छ । यो रकम सहकारीहरुको खातामा गइसकेको छ । सहकारीले किसानलाई वितरण गरिरहेका छन् ।

प्रदेश सरकारले अनुदान कार्यक्रम सुरु गरेपछि सहकारीको कार्यक्षेत्रभित्र दूध उत्पादनमा संलग्न किसानहरुको संख्या बढ्दै गएको संस्थाका प्रबन्धक सुदीप सापकोटाले बताए । गएको वर्ष कुशादेवीमा २ वटा दूध संकलन केन्द्र थपिएको उनले बताए । ग्रामीण क्षेत्रमा रहेर दूध उत्पादनमा संलग्न किसानका लागि यो कार्यक्रम अत्यन्त ठूलो प्रोत्साहनको रुपमा रहेको उनको भनाइ छ । दूधमा २ रुपैयाँसम्म अनुदान पाइन्छ भन्ने भएपछि सहकारीमा सदस्य संख्या वृद्धि हुनुका साथै दूध संकलन पनि बढेको सापकोटाले बताए ।

अनुदान धेरै पाउने जिल्ला चितवन

अनुदान रकमको लगभग आधा रकम चितवन जिल्ला एक्लैले प्राप्त गरेको छ । चितवनले सबैभन्दा बढी ७ करोड ४२ लाख ८ हजार ७ सय ७ रुपैयाँ अनुदान पाएको हो । सबैभन्दा कम दोलखा जिल्लाले ९७ हजार ८ सय २४ रुपैयाँ अनुदान प्राप्त गरेको छ । सहकारीहरुले अनुदान रकम दुग्ध उत्पादक किसानलाई भुक्तान गरी त्यसको भर्पाई साउन मसान्त भित्र निर्देशनालयमा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स