23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पोखरा महानगरको नीति तथा कार्यक्रम आज

पोखरा । पर्यटनलाई केन्द्रमा राखेर प्रमुख समस्याको सम्बोधन र समाधान खोज्ने गरी पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्दैछन् । मुख्यरुपमा घोषणापत्रलाई नै आधार बनाएर पर्यटनलाई केन्द्रमा राखेर कृषि, स्वाथ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले जानकारी दिए ।

पोखराका विद्यमान ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने आचार्यको भनाइ छ । ‘यो वर्ष प्राथमिकता पर्यटनलाई दिएका छौं । पोखराको लाइफलाइन भनेको पर्यटन नै हो । पर्यटनको विकास गर्दा सबैको विकास हुन्छ भन्ने मान्यता हो,’ आचार्यले भने, ‘रोकिएका धेरै कामहरुलाई निरन्तरता पनि दिनुपर्ने छ । नीतिगत हिसाबले पोखरेली जनताको जीवन यापनलाई कसरी सुलभ बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने छौं ।’

पोखरा महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ । पोखरालाई व्यवस्थित बनाउनेतिर पनि नीति तथा कार्यक्रम केन्द्रित हुने आचार्यले बताए । पोखरा भन्नेबित्तिकै चिनिने लेकसाइडसम्मको सडकको सौन्दर्यीकरणको विषय पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको उनले जानकारी दिए । ‘पर्यटन स्थल, सम्पदाहरुलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको वहुवर्षीय योजनाहरु प्नि छन्,’ मेयर आचार्यले भने, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने कार्यक्रम धेरै छन् ।’

धेरै आलोचित बनेको पोखराको सडकमै पार्किङ गर्ने विषयलाई यो नीति तथा कार्यक्रमले व्यवस्थित र विकल्प खोज्ने आचार्यको भनाइ छ । कतिपय बढी आलोचना भएका विषयहरुको म्याद सकिएपछि अर्को नवीकरण नगर्ने नीति महानगरले ल्याउन लागेको छ । ‘जनसरोकार तथा पोखरेलीको दैनिकीसँग जोडिएको विषयलाई कसरी सहुलियत दिन सकिन्छ भन्नेमै हामी केन्द्रित हुने छौं,’ मेयर आचार्यले भने । नीति तथा कार्यक्रम निर्माण गर्न कम्तिमा ३५ दिन लाग्ने भए पनि आफूहरुले ९ दिनमा तयार पार्नु परेको मेयर आचार्यको भनाइ छ ।

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । पोखराको बजेट १० गते पोखरा सभागृहमै प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स