काठमाडौं। वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।
विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको आदेश दिएको छ ।
मुख्य गरी काठमाडौं उपत्यकामा धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको हो ।