23.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउँछौं : नवनिर्वाचित मेयर बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले काठमाडौं महानगरपालिकाभित्रका पानीको मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउने घोषणा गरेका छन् । साथै उनले हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरू तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले अपनत्व लिनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

नेवार समुदायको पर्व सिथि नखः को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मेयर शाहले ढुंगेधारा संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन् । यसका लागि काठमाडौं महानगरपालिकाले अब आवश्यक बजेट विनियोजन गर्नेछ ।

‘आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्थामा छन्, तिनलाई ब्युँताउनका लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरू गर्नेर्छौं,’ बालेनले आफ्नो शुभकामना सन्देशमा लेखेका छन् । हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरू तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनुपर्ने मत बालेको छ ।

काठमाडौँ जसरी मन्दिरहरूको सहरका रूपमा प्रचलित छ, त्यसरी नै पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको पनि भएको चर्चा गर्दै उनले यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्त्व रहेको बताएका छन् । नेवास् सभ्यता र संस्कारअनुरूप हरेक वर्षको जेठ शुक्ल षष्ठीका दिन सिथि नखः पर्व मनाइन्छ ।

सिथि नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौंको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवास् समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवास् खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ । बालेनले सिथि नखः को धार्मिक महत्वमात्रै नभएर पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि योसँग जोडिएर आउने बताएका छन् ।

‘काठमाडौंमा जहाँ खुला र खाली जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षायाममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ,’ सिथि नखःको चर्चा गर्दै बालेनले लेखेका छन् ।

हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी रहेको उल्लेख गर्दे बालेनले वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स