23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

९३ प्रतिशत नेपाली कोरोनाविरुद्धको खोपको पहूँचमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाएको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार १८ वर्षमाथिको कुल जनसंख्यामध्ये १ करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

पूर्ण मात्राको खोप लगाउनेको संख्या १ करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ, जुन कुल लक्षित जनसंख्याको ८१।२ प्रतिशत हो । १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ ९९१ प्रतिशत० जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार ४ चैतसम्म सबै उमेर समूहमा कुल ३ करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइएको छ । यीमध्ये १ करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, १ करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० लाई बुस्टर डोज दिइएको हो ।

सरकारले भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरू केही खरिद गरेर सरकारले कुल ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

नेपालमा हाल ३ हजार ९९६ सक्रिय कोभिड संक्रमित रहेका छन् । कोभिड संक्रमण सुरु भएदेखि नेपालमा गरिएका कुल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये ९ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

सरकारले ०७८ चैतसम्म १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब ७ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनि उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब ९ प्रतिशत जनसंख्या मात्र बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स