24.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

संक्रमण भएको कति समयपछि लगाउन मिल्छ कोरोनाविरुद्धको खोप?

काठमाडौं । ओमोक्रन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। यद्यपि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्यसमेत गरिसकेको छ।

संक्रमितको संख्या बढेसँगै पहिले खोप लगाउन डराउनहरुसमेत अस्पताल र खोप केन्द्रमा धाउन थालेका छन्। उनीहरु पहिलो खोप र बुस्टर डोज लगाउन लामबद्ध देखिन्छन्। यही बीचमा धेरैको चासो छ

के कोरोना संक्रमण भएको बेला खोप लगाउन मिल्छ ?

कोरोना संक्रमण भएको बेला खोप लगाउन हतार गर्न नहुने बताउँछन् शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन। पुनका अनुसार कोरोना संक्रमण भएको कति समयपछि खोप लगाउने भन्ने विषयमा अहिलेसम्म एउटै मापदण्ड छैन। विभिन्न देशका आ-आफ्नै मापदण्डहरु छन्। कोरोनाको पहिलो लहरमा विश्व स्वास्थ्य संगठनले नै ६ महिनाको अवधि तोकेको थियो। साथै अमेरिकाले पनि ९० दिनपछि खोप लगाउन मिल्ने भनेको थियो। कोभिड १९ संक्रमण भइसकेपछि ६ महिनासम्म एन्टिबडी उत्पादन गर्छ। कसैको भने ३ महिनापछि नै एन्टिबडी खस्किने हुन्छ। कोरोनाको अवस्था र खोपको अभावका कारण संक्रमण भएको ३ देखि ६ महिनापछि खोप लगाउने मापदण्ड बनाइएको हुनसक्ने उनले बताए।

नेपालमा पनि कोरोनाको दोस्रो लहरको समयमा संक्रमण मुक्त भएको चार हप्तापछि कोरोना भ्याक्सिन लगाउन मिल्ने मापदण्ड थियो। यसपटक भने सरकारले कुनै मापदण्ड बनाएको छैन। तर कोरोना संक्रमण भएको २ हप्तापछि स्वास्थ्य राम्रो छ भने कोरोना विरुद्धको खोप लगाउँदा फरक नपर्ने पुनले बताए।

‘खासमा कोरोना लागेको तीन महिनापछि खोप लगाउनु उचित हुन्छ। किनकी तीन महिनासम्म शरीरमा एन्टीबडीको उत्पादन भइसकेको हुन्छ। त्यसैले कोरोना लागेको बेला खोप लगाउन हतार गर्नुहुँदैन। बरु आराम गर्नुपर्छ। तर संक्रमण भएको दुई हप्तापछि स्वास्थ्य राम्रो छ भने खोप लगाउँदा फरक चाँहि पदैन,’ डा. पुनले भने।

खोप लगाउन हतार गरेर खोप केन्द्र जाँदा अरुमा संक्रमण सर्ने सम्भावना बढी हुने डा। पुनको तर्क छ। अहिले धेरै मानिसहरुमा रुघाखोकीका लक्षणहरु देखिएको भएर खोपलाई लिएर दुविधा हुने गरेको पुनले बताए। ‘धेरै मानिसहरुमा सामान्य रुघाखोकीकै जस्ता लक्षण देखिएर पोजेटिभ देखिएको अवस्था छ। अर्कोतिर सरकारले पहिलो डोजका साथै बुस्टर पनि दिइरहेको छ। जसकारण मानिसमा खोपलाई लिएर निकै दुविधा छ। तर स्वास्थ्य सामान्य छ भने कोरोना संक्रमण भएको दुई सातापछि खोप लगाउँदा हुन्छ।’

बुस्टर डोज लगाएर छिट्टै कोरोना निको हुन्छ भन्ने धेरैमा भ्रम रहेको पुनको भनाई छ। संक्रमणका लक्षणहरु देखिँदा छिटो निको हुने र निमोनिया नहोला भनेर बुस्टर डोज लगाउन हतार गर्ने उनको तर्क छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स