26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेलम्ची बाढीको आंशिक क्षति विवरण सार्वजनिक,२३ बेपत्ता, पुल र सडक तहसनहस

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरुको यकिन विवरण सार्वजनिक भएको छ । शनिबार हेलम्बु गाउँपालिकाले बाढीबाट बेपत्ता भएका २३ जनाको विवरण सार्वजनिक गरेको हो ।बेपत्ताहरुको विवरणमा गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाका अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्देका ३५ वर्षीय सुनिल तामाङ, ३५ वर्षकै पूर्ण तामाङ, ५० वर्षका कामी तामाङ, उनकी ८० बर्र्षीया आमा नोकी तामाङ रहेका छन् । त्यसैगरी नाम नखुलेको एक जना ३५ वर्षीया महिला र उनका २ वर्षीय एक छोरा, ३१ वर्षीय माधव भण्डारी, चुरेटार १ का ४२ वर्षीय गणेश ज्योति, २३ वर्षीय सुरेन्द्र नेपाल, पाल्चोक सेराकका ६६ वर्षीय दिकुमारी खड्का, ५० वर्षीय च्याङ्बा तामाङ, उनकी ४५ वर्षीया श्रीमती काली तामाङ्ला बेपत्ता रहेका छन् ।

यस्तै, हल्देकै ४६ वर्षीय भिम प्रसाद भण्डारी, ९० वर्षीय तस्वीर तामाङ, हेलम्बु चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, मेलम्ची खानेपानी बाँधस्थल अम्बाथानका काम गर्ने चाइनिज ३ जना, भारतिय ३ जना र नेपाली २ जना गरी ८ जनालाई बाढीले बेपत्ता पारेको विवरण गाउँपालिकाले सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बेपत्तासँगै क्षति विवरण पनि सार्वजनिक गरेको छ । बाढीबाट भएको भौतिक क्षतिको विवरणबारेमा पनि गाउँपालिकाले आंशिक विवरण सार्वजनिक गरेको छ । पूर्ण विवरण केही दिनमै सार्वजनिक गर्ने गाउँपालिकाले बताएको छ । हेलम्बु गाउँपालिकाले शनिबार सार्वजनिक गरेको विवरणअनुसार सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोसँगै बुधबार राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ ।

बाढीमा परी चार महिला र १९ पुरुष बेपत्ता भएका छन् । बाढीले ६ वटा झोलुंगे पुल बगाएको छ भने तीन वटा मोटरेबल पुल बगाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ ।

चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । यस्तै काठमाडौं–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुंग्रे बजार खण्डमा करिब ३०० मिटर, चनौटेदेखि गणेशसम्मको करिब ७०० मिटर, भूमेश्वरी तितेखानी खण्डको करिब ५०० मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोकिटर सडक क्षतिग्रस्त भएको छ ।

बाढीले हेलम्बु गाउँपालिका–१ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका करिब २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११२ परिवार विस्थापित भएका छन् ।

किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यादयको भवन बनाएको पनि बगाएको छ भने वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ । यसैगरी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका करिब २५ पसल बाढीले बगाएको छ भने अधिकांश घरमा क्षति पुगेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स