26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौंमा पुनः फोहोर संकलनमा अफ्ठेरो, भएको के हो ?

काठमाडौं । काठमाडौंमा पुनः फोहोर संकलनमा अफ्ठेरो देखिएको छ । मुख्यतः फोहोर बिसर्जन गर्ने ठाउँको अभाव हुँदा र सडक विग्रिदा फोहोर थुप्रिने देखिएको हो ।
दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न साइटसम्म पुग्न सडकको अवस्था बिजोग छ ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोहोर बिसर्जन प्रभावित भएको छ । सिसडोलको चरम उपयोग भइसकेको भन्दै श्रेष्ठले बञ्चरेडाँडाको विकल्प छिटो तयार गर्नुपर्ने बताए । वर्षेनी फोहोर फाल्ने अभियान वर्षाको कारण प्रभावित हुने गरेको छ ।

फोहोर फाल्न सास्ती भएपछि महानगरपालिकाले संघ सरकारलाई छिटो बञ्चरेडाँडा उपयोगको लागि वातावरण बनाउन माग गरेको छ । सिसडोलमा ल्यान्डफिल साइटको क्षमताले नभ्याएर फोहोर पुरेको ढिस्को भासिने जोखिम आइसकेको महानगरका अधिकारीहरु बताउँछन् । साइटको क्षमता सकिएर पटक–पटक बढाइएको छ । अब क्षमता बढाउन पनि नसकिने भन्दै महानगरका अधिकारीले पटक–पटक सरकारलाई जानकारी गराएका छन् ।

सिसडोलको विकल्प नखोजिए काठमाडौंमा फोहोर नउठेर फोहोरकै प्रकोप सिर्जना हुने जोखिम रहेको महानगरका अधिकारीको आँकलन छ । ल्यान्डफिल साइट प्राविधिक रुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकोले विकल्पका लागि भइरहेको काम तीव्र बनाउन महानगरको माग छ । २०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाविस (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले ३ वर्ष धान्ने अनुमान थियो ।

ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स