24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

घोषणापत्रको अन्तिम तयारीमा राजनीतिक दलहरू

काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् ।

सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले शुक्रबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको प्रारम्भिक खाकामाथि छलफल गरेर दुई–तीन दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र लेखन, आवरण निर्माणसहित सम्पूर्ण काम सकिएकाले केही दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो ।

माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगरले जनताबाट आएका सुझावसहित घोषणापत्र तयार गरिएको जानकारी दिँदै पार्टीभित्रको छलफलपछि परिमार्जनसहित सार्वजनिक गरिने बताउनुभयो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको घोषणापत्र लेखनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै केही दिनमै सार्वजनिक गर्ने जानकारी दिनुभयो । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले घोषणापत्र निर्माण भइरहेको बताउनुभयो ।

सबैको नारा समृद्धि
नेपाली कांग्रेस ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समिति’ले ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर घोषणापत्र तयार गर्दैछ ।

समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले पार्टी स्थापनाकालदेखि अहिलेसम्मका दस्तावेज र घोषणापत्र अध्ययनपछि मौलिक घोषणापत्र लेखिएको बताउनुभयो । उहाँका अनुसार समयसापेक्ष र जनताका मुद्दालाई केन्द्रमा राखेर नवीन नेपालको परिकल्पनासहित घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अलग–अलग क्षेत्रका उचित सुझावलाई घोषणापत्रमा समावेश गरिएको छ । संविधान निर्माणपछि अब देशको समुन्नतिका सवालमा कांग्रेसले कोर्ने मार्गचित्र घोषणापत्रमार्फत आउनेछ ।”

एमाले उपमहासचिव ज्ञवालीले समृद्धि नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउने लक्ष्यसहित घोषणापत्र आउने बताउनुभयो । माओवादी केन्द्रकी नेत्री घर्तीमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई प्रभावकारी कार्यान्वन गर्ने र जनतामा रूपान्तरणको अनुभूति गराउनेजस्ता महìवपूर्ण कार्यक्रम घोषणापत्रमा समावेश गरिएको बताउनुभयो । उहाँले देशलाई उज्यालो बनाउने अभियान र आधारभूत तहका नागरिकका समस्याको निराकरण गर्ने कार्यक्रम पनि घोषणापत्रमा राखिएको बताउनुभयो ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले लोकतन्त्रको सुदृढीकरणका पक्षमा पार्टीले गहन ढङ्गले विश्लेषण गरेर घोषणापत्र आउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिको रक्षा गर्नु नै अहिलेको दायित्व हो । संविधानमाथि आएको सङ्कटलाई रोक्न सफल भयौँ । अब जनतालाई परिवर्तनको अनुभूति दिने गरी कार्यक्रम बनाएर अघि बढ्छौँ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स