24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

धार्मिक मेलाका लागि गाउँपालिकाद्धारा दुई दिन सार्वपनिक बिदा

खोटाङ । खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको छ। हरिवोधनी एकादशीमा एक सातासम्म बराहपोखरी मेला लाग्दछ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ।

मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो।

मेलामा दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ। चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ।

समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ। मेला भर्न उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन्।

परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ)बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्तीमा उल्लेख छ। मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ।

बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ। यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रकारूपमा घोषणा गरेर प्रवर्द्धनको कामसमेत सुरू गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स