29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आज प्रदेश १ काम मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा विश्वासको मत लिदैं हुनुहुन्छ । आज दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उहाँको प्रस्ताव निर्णयार्थ पेश भई मतविभाजन गर्ने कार्यसूचि छ ।

कात्तिक ७ गते विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने कार्यसूचि रहेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएका कारण प्रदेशसभा बैठक एकसाता पर सरेको थियो ।

आजको बैठक भने स्थगित हुने सम्भावना न्यून रहेको बताइएको छ । विपक्षी गठबन्धनमा आवद्ध रहेका सबै दलहरुको आइतबार बसेको बैठकले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यस्तै विपक्षी दलहरुबीच मुख्यमन्त्रीमा कसलाई अघिसार्ने भन्ने विवाद पनि सहमतिबाट टुंगिएका कारण मुख्यमन्त्रीको प्रस्तावको अन्तिम टुंगो हुने अनुमान गरिएको छ ।

विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ । विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले गठबन्धनमा सहमति बनेको जानकारी दिँदै यसअघि प्रस्ताव गरिएको आलोपालोको प्रस्ताव नेपाली काँग्रेसको आन्तरिक विषय मात्र भएको बताउनुभयो ।

गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकोले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने करिब निश्चित छ । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनका लागि संविधान बमोजिम आव्हान गर्नुहुने छ । विपक्षी गठबन्धनमा आवद्ध दलहरुले सोमबारनै प्रदेश प्रमुख समक्ष राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनको भागबण्डा आदि विषयमा छलफल अघि बढाइने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । हाल कायम ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४० सांसद हुनुहुन्छ । परिस्थितिमा फेरबदल नभए अहिलेसम्म सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद आवद्ध छन् ।

गठबन्धनमा आवद्ध नेपाली काँग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद अहिलेसम्म कुनैपनि पक्षमा नखुलेको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स