24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जहाँ बोक्सीको आरोपमा कपाल खौरिएर मलमूत्र खुवाइयो

जलेश्वर । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै अर्को घटना उजागर भएको छ । सोही जिल्लामा एक महिलालाई मलमूत्र खुवाएर कुटपिट गरी अभद्र व्यवहार गरिएको हो । जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ । महोत्तरी प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतलसमेत बरामद गरेको छ ।

गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको महोत्तरी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालिन् । त्यसपछि सिकिन्दर समेतले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपालसमेत मुन्डन गरेर अपमानजनक दुर्व्यवहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक मिश्रले बताए ।

एकदिन अघि महोत्तरीको मडै गाउँमा भाउजूलाई बोक्सी भन्दै देवरले हत्या गरेका थिए । देवर सञ्जय कुमार झाले भाउजू शिलादेवीको घरमै सुतिरहेको अवस्थामा हथौडाले हानेर हत्या गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स