काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् ।यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर राजधानी फर्कनेको भिडभाड देखिएको छ ।
काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।